Paschim Express
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि छलफलमा जुटे काँग्रेस–एमाले

डडेल्धुरा । सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच छलफल सुरु भएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले केन्द्रमा नयाँ सत्ता समीकरणका लागि समझदारी गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सरकार निर्माणका लागि पहिलो चरणको छलफल भएको हो ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मंगलबार महेन्द्रनगरमा छलफल भएको हो ।

छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको पूर्वमन्त्री देउवाले बताए ।

उनले केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि काँग्रेस र एमाले मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । तर यहाँ काँग्रेस र एमाले मिल्दा मात्रै सरकार निर्माणका लागि बहुमत पुग्छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update