डडेल्धुरा । राजनीतिमा तल्लीन डडेल्धुराको भागेश्वर गाउँपालिकाका चन्द्र ठकुराठीले व्यवसायीक रुपमा गँड्यौले मल उत्पादन पनि गरिरहेका छन् । गड्यौला पालनमा निकै नै हौसिएका छन् उनी । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा बाबुबाजेदेखि परम्परागत खेतीपातीमा आश्रित ठकुराठी पछिल्लो तीन वर्षदेखि भने गड्यौलापालन व्यवसाय गर्दै आएका हुन् ।
कृषि क्षेत्रमा रासायनिक मलबारे बढ्दै गएको सचेतना तथा प्रांगरिक मलप्रति बढ्दै गएको आकर्षणपछि गड्यौलापालन तथा गड्यौला मल उत्पादनमा कम्मर कसेर लागेका हुन् उनी । त्यसमाथि छोटो अवधिमा पाएको सफलताले उनमा झनै उत्साहको सीमा छैन ।
उनी भन्छन्, “अब किसानले खेतबारीमा रासायनिक मल प्रयोग गरेपछि खेतको हैसियत कसरी बिगार्छ ? मानव स्वास्थ्यमा के असर गर्छ बुझ्दै गएका छन् । जसका कारण अबको समय अर्गानिक कृषि उपज उत्पादनको हो ।”
सामान्य लेखपढ मात्रै गरेका ठकुराठी यसअघि राजनीतिसंगै परम्परागत कृषि पेशामा मात्रै आश्रित थिए । तर कृषिभित्र पनि फरक र नयाँ व्यवसाय गर्ने सोच हुँदाहुँदै पनि आफूसँग पर्याप्त लगानीको स्रोत नहुँदा उनी आफ्नो इच्छालाई दबाएर बसेका थिए ।
तर जहाँ इच्छा, त्यहाँ उपाय भने झै तीन वर्ष अगाडि सुदूरपश्चिम कृषि निर्देशनालय दीपायलले प्रांगरिक मल उत्पादनको लागि गड्यौला पालनको अनुदान कार्यक्रम सम्बन्धी सूचना जारी गरेको थियो । त्यही सूचना देखेपछि आफूलाई गड्यौला पालन व्यवसायतर्फ दोहो¥याएको ठकुराठी बताउँछन् ।
नगद आम्दानीले उत्साह
आफ्नो व्यक्तिगत एक लाख २५ हजार र नेपाल सरकारको साढे ३ लाख अनुदान गरी उनी पहाडी जिल्लामा पहिलोपटक गड्यौला पालन व्यवसाय थालेका ठकु्राठीको दाबी छ । सुरुवाती अवस्थामा १२ किलो गड्यौला बीउ काठमाडौंबाट ल्याएर उनले व्यवसाय सुरुवात गरेका हुन् । जुन बिउ उनले प्रति किलो दुई हजार पाँच सय रुपैयाँमा खरिद गरेर ल्याएका थिए । सुरुवाती पहिलो वर्षमा ८० किलो गड्यौला र ३० क्वीन्टल मल उत्पादन भएपछि आफू निकै उत्साहित भएको ठकुराठी सुनाउँछन् ।
उनले उत्पादन गरेको मलको स्तरीकरणसँगै प्रति क्वीन्टल तीन हजार पाँच सय रुपैयाँ दररेट कृषि ज्ञान केन्द्र डडेल्धुराले नै निर्धारण गरिदिएको छ । जसको आधारमा उनले गत वर्ष साढे ५२ हजार रुपैयाँ बराबरको गड्यौला मल तथा प्रांगरिक मल बिक्री गरेका थिए ।
चालू वर्षमा भने उनले एक सय ५० क्वीन्टल मल उत्पादन गरेका छन् । भने साढे दुई क्वीन्टल गड्यौला उत्पादन गरेका हुन् । चालू वर्षमा ५ देखि ६ लाखसम्म कारोबार गर्ने ठकुराठीको लक्ष्य छ । गड्यौला र गड्यौलाको बजार माग बढ्दो रहेको बताउँदै उनले व्यवसायलाई थप प्रविधिमय बनाएर बढाउने जाने जनाए ।
पहाडमा गड्यौलापालन सिकाउँदै
पछिल्लो समय सरकारी अनुदानलाई अधिकांशले गरिखाने मेसोको रुपमा लिएको पाइन्छ । अनुदान पाउञ्जेल गर्ने र नपाएपछि छोड्ने परिपाटी उत्तिकै बढी छ । तर समाजमा रहेका ठकुराठी जस्ता युवा पुस्ताले सरकारी अनुदानलाई भरपुर सदुपयोग गरेर सफल उद्यमीको रुपमा आफूलाई उभ्याउन थालेका छन् । समाजमा उदाहरणीयसमेत बनेका छन् ।
अब ठकुराठी सुदूर पहाडमा आफू मात्रै होइन, अरुलाई गड्यौला पालन व्यवसाय सिकाउन थालेका छन् । चालू वर्षमा आफूलाई देखेर २७ जना युवाहरु गड्यौला पालनतर्फ अग्रसर भएको उनी सुनाउँछन् ।
सरकारी अनुदानको सदुयोगमा जोड दिँदै ठकुराठी भन्छन्, “हामीसँग स्रोत साधनको अभाव छ । हामी किसान स्वावलम्बी मान्छे हौं । तर गरिबी छ । आर्थिक स्रोत नहुँदा अनुदानको भर पर्नुपर्ने बाध्यता हुन्छ । तर अनुदानलाई सही सदुपयोग गर्नुपर्छ । राज्यको अनुदानलाई पहुँचको भरमा लिने हो भने न त राज्यको लगानीको सदुपयोग हुन्छ, न त उ वास्ताविक किसान बन्न सक्छ । जसबाट राज्यको अनुदान दुरुपयोग हुन पुग्छ । त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ ।”
डडेल्धुराको भागेश्वरका युवा मात्र होइनन् अजयमेरु गाउँपालिका युवालाई पनि गड्यौले मल उत्पादले उत्साही बनाएको छ । लक्ष्मणकान्त पनेरु प्लास्टिकको टनेलमा बेमौसमी तरकारी खेती गर्ने युवा कृषक हुन् । जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल गाउँका कृषक पनेरुले अधिकाँश समय च्याउखेती र टमाटर खेती गर्दै आएका छन् । ३४ वर्षीय पनेरुले परम्परागत मकै तथा गहँुबाली मात्र खेती गर्ने पुस्ताको सीपसँगै नगदेबालीतर्फ प्रवेश गरेको करिब पाँच वर्ष भयो ।
लगातार च्याउ र टमाटर उत्पादन गरेर नगद आम्दानी गर्ने उनले एक दिन, रेडियोमा गँड्यौले मल बनाउने कृषकलाई अवसर भन्ने सूचना सुने । त्यसको केही दिनमा ज्ञान केन्द्र पुगेर आफू गँड्यौले मल बनाउन गँड्यौला खरिद गर्ने इच्छुक रहेको जनाउँदै माग फारम भरेर दर्ता गरे ।
जिआर कृषि तथा पशुपालन फार्म नामको फर्म दर्ता गरेर उनको च्याउखेती उत्पादन गर्ने समयमै थियो । स्नातक अध्ययनरत युवाले इच्छा देखाएपछि ज्ञान केन्द्रले गँड्यौले मल इकाई निमार्ण तथा दुई किलोग्राम गँड्यौला खरिदका लागि सहयोग गरेको थियो । दुई महिनामै गँड्यौले मल उत्पादन गरेको देखेर उनी दंग भए ।
बजारबाट महँगो दरमा रासानिक मल किन्नुपर्ने बाध्यता हटेर खेतीमा लाग्ने लागत घटेको महसुस गरेको अनुभव युवा कृषक पनेरुले सुनाए । करिब एक वर्षपछि उनले गँड्यौला मलको इकाई बढाएर अहिले व्यवसायीक बनेका छन् । उनले डडेल्धुरा जिल्लाका अधिकाँश ठाउँमा माटोको उर्वराशक्ती बढाउने दुई सय ५० क्वीन्टल गँड्यौले मल बिक्री वितरण गरिहेको छन् ।
‘‘अहिले एक वडाले नै एक सय बोरा खरिद गरिएको छ, जती उत्पादन भएको छ मेरो बारीमा राखेर पनि बिक्री भएको छैन,’’ उनले भने, ‘‘उत्पादन धेरै नै भएको छ, बिक्रिका लागि यहाँका सरकारी निकायलाई आग्रह गरिहेको छु ।’’
मल बिक्रिबाट वार्षीक दुई लाख आम्दानी हुने युवा कृषक पनेरुले बताए । अजयमेरु गाउँपालिकामा उनीसहित चार जना कृषकले गड्यौले मल उत्पादन गरीरहेको छन् । कृषक भानबहादुर मल्ल, टेकराज पाठक, बिरबहादुर ऐरीले मल उत्पादन गर्ने गरेका छन् । उनीहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेर मल उत्पादन इकाई निमार्ण गरिएको अजयमेरु गाउँपालिका कृषि शाखा प्रमुख तारा सिंहले बताए ।
ठकुराठी र पनेरुसहित डडेल्धुरामा गड्यौले मलको व्यवसायीक उत्पादनमा गर्ने कृषक २० जना छन् । उनीहरुले छरछिमेकी गाउँ, वडा तथा पालिकाहरुमा ५० देखी दुई सय ५० सय क्वीन्टल मल उत्पादन गरी बिक्री गर्ने गरेका छन् । मल मात्र नभई उनीहरुले गँड्यौलासमेत बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले बताए । पछिल्लो समय अगुवा कृषकले गँड्यौला मलको प्रयोग बढाउँदै गएको उनको भनाई छ ।