Paschim Express
डडेल्धुराका २८ विद्यार्थीले यसवर्ष पनि छात्रवृत्ति पाउने, नेविसंघले गर्‍यो सम्झौता

डडेल्धुरा । काठमाडौंको लुम्बिनी एकेडेमिक फाउन्डेसनले एसईईमा परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने डडेल्धुराका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई यसवर्ष पनि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

यसवर्ष उत्कृष्ठ नतिजा ल्याउने डडेल्धुराको सात वटा पालिकाबाट एक÷एक जना गरी जम्मा ७ जनालाई पूर्ण र प्रत्येक पालिकाबाट ३ जनालाई आंशिक गरी जम्मा २८ जनालाई छात्रवृत्ति प्रदान गरिने नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए ।

ऐरका अनुसार लुम्बिनी एकेडेमिक फाउन्डेसनमा पूर्ण छात्रवृति प्राप्त गर्ने ७ जना विद्यार्थीहरुले परीक्षा तथा प्रयोगात्मक शुल्क मात्र तिर्नु पर्नेछ भने आँशिक छात्रवृत्ति पाउने २१ जना लाई वार्षिक कुल शुल्कको ७५ प्रतिशत छात्रवृत्ति दिइने छ।
 
काठमाडौंको चावहीलस्थित चुच्चेपाटीमा रहेको लुम्बिनी एकेडेमिक फाउन्डेसन का प्रवन्ध निर्देशक रविन चन्द्र कोइराला, नेपाल विद्यार्थी संघ केन्द्रीय सदश्य भुवन भट्ट र नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले हस्ताक्षर गरेको सम्झौता पत्रअनुसार तीन वर्षमा डडेल्धुराका जम्मा ८४ जना जेहेन्दार र गरिब विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार विद्यार्थीहरुले गत वर्षदेखि छात्रवृत्ति पाउन थालेका हुन् । छात्रवृति प्राप्त गर्नको लागि सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिस हुनुपर्ने छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update