Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले राजीनामा नदिने, विश्वासको मत लिने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले राजीनामा नदिएर साउनमा विश्वासको मत लिने भएका हुन् । 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सोडारीले पछिल्लो राजनीतिक परिस्थितिमा आफूले राजीनामा नगर्ने बताए । एमालेले सरकारको साथ छाडेर बिहीबार समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ ।

बहुमत गुमाइसकेको अवस्थामा मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ  । सो अवस्थामा विश्वासको मत प्राप्त गर्न नसके उनी नेतृत्वको सरकार ढल्नेछ । 

कांग्रेस र एमालेबिच नयाँ सहमति भएर सरकार गठनका लागि नयाँ समीकरण बनेपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ । 

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, उाको आफ्नै पार्टी नेकपा एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्ति पार्टीका सातमध्ये दुई र एक स्वतन्त्रगरी जम्मा १७ जनाको समर्थन रहेको देखिन्छ ।  

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update