कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।
साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ।
शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ ।