Paschim Express
जोरायल रोएको दिन : ९ वर्षअगाडि कटपत्तेमा अस्ताएका थिए २९ जना

डडेल्धुरा । डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ९ वर्ष पुगेको छ ।

दसैंको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा ०७१ साल असोज २० गते भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाइते भएका थिए ।

जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन । 

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रविन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए/नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने लगायतको उल्लेख छ । प्रतिवेदनमा औंल्याएको विषय कार्यान्वयन नभएको गुनासो जोरायलबासीको छ । 

दशैंको भोलिपल्ट ना ३ ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो ।बसमा १२५ जनाभन्दा बढी यात्रुहरु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पाता भाँचिएपछि दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update