Paschim Express
डडेल्धुरा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गगन भण्डारीले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । 

दुई नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । 

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशर बहादुर साउदले बताए । 

आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक भण्डारीले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको सहयोगको प्रशंसा गरे । 

यस्तै प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले पनि यो अभियानमा महिला स्वयम्सेविहरुको योगदान ठूलो रहेको बताए । कार्यक्रममा बोल्दै अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले स्वास्थ्यका अरु सूचकांकहरुमा सबैले ध्यान दिनु जरुरी रहेको बताए । ‘सबैले मिलेर समग्र स्वास्थ क्षेत्रको सुधार गर्नु जरुरी छ’ उनले भने । 

कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सभा सदस्य सरस्वती खड्काले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले पूर्ण खोप घोषणाका लागि गरेकाे काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको बताइन् । 


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update