Paschim Express
‘ज्यान त जोगियो, अब बस्ने कहाँ ?’

बझाङ । थलरा गाउँपालिका–३ कुच गाउँकी जगु नेपालीलाई त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा आएको ६.३ रेक्टर स्कलेको भूकम्पले घर भत्काएपछि नेपालीको बास खेतमा लगाएको त्रिपालमुनि भएको हो । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ आखाँबाट आसु खसाल्दै नेपालीले भनिन्, ‘मेरो त जग्गा पनि छैन ।

अर्काको जग्गामा गाउँलेले त्रिपाल हालेका छन् । सोही त्रिपालमुनि रात कटाइरहेकी छु ।’ भूकम्पपछि पनि उनलाई के खाने ? भन्ने चिन्ता छैन । ‘घर भत्किए पनि घरभित्र रहेको अन्न निकालिसकेकी छु,’ नेपालीले थपिन्, ‘त्यसैले खानेभन्दा पनि कहाँ बस्ने भन्ने चिन्ता बढी छ ।’ कुच गाउँकै पालु बिकको घर पनि भूकम्पले भत्काएको छ ।

‘सरकारले नै बनाइदिएको (मुक्त हलियामार्फत) एक घर थियो, त्यो पनि भूकम्पले लग्यो,‘ बिकले भनिन्, ‘जसोतसो ज्यान त जोगियो, अब बस्ने कहाँ ? भन्ने चिन्ता छ ।’ सरकारले राहतका नाममा खाद्यान्न दिनुभन्दा पनि बसोबासको व्यवस्था गरिदिनुपर्ने माग बिकको छ । 


सेती नदीलाई समानान्तर पारेर बनाएको जयपृथ्वी राजमार्गको पारीपट्टी पर्छ कुछ गाउँ । १६ असोजको भूकम्पले गाउँ नै ध्वस्त बनाइदिएको छ । अहिले गाउँलेहरु खेतमा लगाइएको एउटै त्रिपालमुनि रात काटिरहेका छन् ।

जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिका–१० की राधा बादीको घर पनि भूकम्पका कारण भत्किएको छ । १६ असोजदेखि उनको बास पनि घरनजिकैको त्रिपालमुन भएको छ । ‘बस्न पनि छैन, खान पनि केही छैन,’ बादीले भनिन्, ‘सरकारले बसोबासको व्यवस्था तत्काल गरिदिनु प¥यो ।’ जयपृथ्वीकै गणेश बोहराले पनि भूकम्पका कारण दैनिकी कष्टकर बनेको दुखेसो पोखे । ‘घर भत्किएर ध्वस्त नै त भएको छैन,’ उनले भने, ‘तर चिराचिरा परेर बस्नका लागि निकै असुरक्षित भएको छ । यस्तो घरमा कसरी बसोबास गर्ने ?’ उनका अनुसार दिउँसोको समयमा भूकम्प जाँदा धेरै मानविय क्षति नभएको हो । ‘यहि भूकम्प राति गएको भए मलामी जानका लागि पनि मान्छे पाउँन समस्या हुने थियो,’ उनले भने । 


१६ गतेको भूकम्पपछि पनि निरन्तर रुपमा परकम्प गइरहेका कारण बझाङवासी थप पीडित भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । १६ गतेको भूकम्पले ठुलो भौतिक क्षति भएको र परकम्पले थप क्षति गरिहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीइा भरतबहादुर शाहले बताएका छन् ।

‘हामी भूकम्पका कारण भएको क्षतिको विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘यकिन विवरण आउन त अझै समय लाग्छ । तर, अधिकांश घर बस्नका लागि असुरक्षित भएका छन् । त्यसैमा परकम्पले झन त्रसित बनाइरहेको छ ।’ 


डिएसपी शाहका अनुसार शनिबारदेखि राहत वितरणको कार्य पनि सुरु भएको छ । ‘हामीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट प्राप्त भएको राहत सामाग्री स्थानीय तहलाई प्रदान गरेका छौं,’ उनले भने, ‘स्थानीय तहले प्राथमिकताका आधारमा राहत सामाग्री वितरण गर्नेछन् ।’ भूकम्पका कारण बझाङ जिल्लामा ठुलो क्षति भएकाले तीन तहकै सरकार मिलेर काम गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।

‘सुरुमा प्राविधिकको टोली खटाएर कुन घर बस्न मिल्ने र कुन नमिल्ने भनेर छुट्याउछौं,’ १८ गतेदेखि बझाङमै रहेका मुख्यमन्त्री शाहले भने, ‘त्यसपछि द्रुत गतिमा पुर्ननिर्माणको कार्य हुन्छ । तीन तहकै सरकार मिलेर अगाडि बढ्छौं ।’ उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गरेको छ भने राहत वितरणको कार्य पनि स्थानीय तहमार्फत सुरु गरिएको छ । ‘भूकम्पले सबैभन्दा बढी भौतिक  क्षति गरेकाले सोहीतर्फ हाम्रो ध्यान जान पनि आवश्यक छ,’ उनले भने, ‘पीडितको बसोबासको व्यवस्था गर्ने जिम्मा सरकारको हो । यसमा ढिलाई हुँदैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । यसैगरी, भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप १५ देखि २० हजार प्रदान गरिने बझाङ पुगेरै प्रधानमन्त्री दाहालले बताएका थिए ।

असोज १६ गते गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको थियो भने सुदूरपश्चिमप्रदेशभर २९ जना घाइते भएका थिए । त्यस्तै प्रदेशका ७ जिल्लामा एक हजार बढी भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५ दशमलव ३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update