Paschim Express
सुदूरपश्चिममा बजेट शून्यता

डडेल्धुरा । सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ । असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान रहेकोमा बजेट पास नभएपछि बजेट शुन्यताको अवस्था आएको हो ।

तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन ।

बजेटप्रति कांग्रेसको विरोध भइरहेकाले तत्कालीन गठबन्धनले असारको अन्तिम दुई/तीन दिनमा बजेटमाथि छलफल गराउने र पास गर्ने सोच बनाएको थियो । तर, सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् ।

सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट विहीनताको अवस्था आएको छ। साउन १ गतेदेखि प्रदेश सरकारले न खर्च गर्न पाउछ, न कर संकलन गर्न नै । ‘बजेट भ्याकुमको अवस्था आयो, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तुरुन्त राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो सहज पार्नुपर्छ,’ नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने ।

उनले, बजेट विहीनताको अवस्था आउनुभन्दा प्रदेशको आर्थिक गतिविधि अघि बढाउन वर्तमान मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । तर मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भने सकेसम्म अध्यादेशबाट बजेट ल्याउने, नसके पेस्की बजेट ल्याएर काम चलाउने र अल्पमतमा परेको अन्तिम दिनसम्म मुख्यमन्त्री रहिरहने दाउमा देखिएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update