Paschim Express
डडेल्धुरा अस्पतालका चिकित्सक मेसुको हुकुमीशैलीले आजित, सिडियो कार्यालय पुग्यो विवाद

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा छन् । ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक कार्यक्रम’ अन्तर्गत प्रोत्साहन स्वरुप भत्ता(ओडीओआइ) नपाएको भन्दै उनीहरुले गत विहीबारदेखि आन्दोलन थालेका थिए ।

संघीय सरकारले आफ्नो मातहत रहेको डडेल्धुरासहित देशका विभिन्न अस्पतालमा ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक कार्यक्रम’ लागू गरेको छ । जसअन्तर्गत दुर्गम तथा अन्य काम गर्ने विकल्प नभएको अस्पतालमा कार्यरत चिकित्सकलाई प्रोत्साहन स्वरुप भत्ता(ओडीओआइ) दिने भनेर भनिएको थियो । सोही कार्यक्रम अनुसार विगतका वर्षहरुमा अस्पतालमा कार्यरत चिकित्सकहरुले आर्थिक वर्षको अन्त्यमा उक्त भत्ता पाउँदै आएका थिए । तर, यो वर्ष भने उनीहरुले एक पैसा पनि पाएका छैनन् ।

त्यसैकारण प्रोत्साहन भत्ता(ओडीओआइ) नपाएको भन्दै अस्पतालमा कार्यरत २५ भन्दा बढी चिकित्सकले आन्दोलित भएका हुन् । उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको र आफूहरुले नपाएको भन्दै आन्दोलित चिकित्सकहरुले अस्पताललाई पत्र नै लेखेर २८ गतेबाट इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गनै चेतावनी दिएका थिए ।

यसैबीच अस्पतालका कार्यालय प्रमुख मेसु सन्तोषकुमार गुप्ताले आफूहरुलाई चर्को दबाब तथा हुकुमीशैलीमा नयाँ कानुन लागू गर्न लागेको भन्दै चिकित्सकहरु त्रसित भएका छन् । ‘हिजो(सोमबार) राति अस्पतालको छाप नलगाएको एउटा पत्र पठाउँदै मेसुले अस्पतालमा गुनासो राख्न नपाइने, कार्यालय प्रमुखलाई सिधै भेट्न नपाइने लगायतका निरङ्कुश शासन झल्काउने खालको आदेशयुक्त नियम लगाएको जानकारी गराएका छन्’ एक चिकित्सकले भने ।

अर्का एक चिकित्सकका अनुसार अब इमरजेन्सी वार्डमा रातिको समयमा २ जनाको सट्टा एकजना चिकित्सकको मात्रै ड्युटी रहने लगायतका कयौं नयाँ नियम लगाइएको छ । ‘राति कुनै दुर्घटना भएर बिरामी आए एक चिकित्सकले सक्छ त ? यस्ता नियम बनाउँदा हामी काम गरिरहेका कुनै चिकित्सकसँग सल्लाह गरिएको छैन’ उनले भने ।

सोही विषयमा जिल्लाका केही स्थानीय युवाले हिजो(सोमबार) मेसु गुप्तालाई भेटेर चिकित्सहरुको माग सम्बोधन गरेर काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । तर, मेसु उल्टै स्थानीयसँग कड्एिका थिए ।

तिनै गुनासोका सम्बन्धमा आज(मंगलबार) बिहान सम्पूर्ण आन्दोलनरत चिकित्सकले प्रमुख जिल्ला अधिकारी(सिडियो) अञ्जन न्यौपानेलाई भेटेर ध्यानाकर्षण गराएका छन् । सोही बेला सिडियो न्यौपानले अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा र मेसु सन्तोषकुमार गुप्तालाई समेत बोलाएर छलफल गराएका थिए ।

सिडियो न्यौपानेका अनुसार अस्पताल प्रशासनले चिकित्सकका माग सम्बन्धमा छलफल गरेर टुंगो लगाउने सहमति भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update