Paschim Express
सुदूरपश्चिममा मन्त्रालय संख्या बढाएको आधा महिनामै घटाउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाउने तयारी गरेको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या ११ पुगाएका थिए । 

मन्त्रालय सङ्ख्या बढाएको आधा महिनामै फेरि घटाएर साविककै सङ्ख्या कायम गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । सरकारले मन्त्रालय घटाएर साविककै कायम गर्ने निष्कर्षमा पुगेको र चाँडै क्याबिनेटबाट निर्णय गर्ने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताए । 

एमालेले नमानेका कारण सरकारले मन्त्रालय फुटाएको उनको भनाइ छ । रावलले भने,“एमालेका साथीहरुले फुटाउनै पर्ने जिकिर गरेपछि सरकारले मन्त्रालय फुटाएको हो । तर, अब घटाउने निष्कर्षमा पुगिसकेका छौं ।”

सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएको थियो । मन्त्रालय संख्या बढाइएपछि त्यसको विरोधसमेत भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update