Paschim Express
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले गर्‍यो दलको नेता फेरि परिवर्तन

धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले दलको नेता हटाएका छन् । उन्मुक्तिका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षका दुई जना दलका नेतालाई हटाएर खुसीराम डगौरा थारुलाई दलको नेता बनाइएको छ। 

शनिबार भएको निर्णय सोमबार सार्वजनिक भए अनुसार रञ्जिता पक्षका कैलाश र  रेशम पक्षका घनश्याम चौधरीलाई हटाएर खुसीरामलाई दलको नेता बनाइएको हो । 

खुसीराम रेशम पक्षको प्रमुख सचेतक थिए । बैठकले उपनेतामा अध्यक्ष रञ्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको प्रमुख सचेतक थापाले पुष्टि गरिन् । उपनेता कैलाश र प्रमुख सचेतक थापा अहिले नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको  प्रदेश सरकार मन्त्री समेत हुन् । 

सात सदस्यीय संसदीय दलको बैठकमा लक्ष्मणकिशोर चौधरी, खुसिराम, कैलाश चौधरी र टीका थापा गरेर चार जना सहभागी थिए । बैठकमा घनश्याम, रामेश्वर चौधरी र इन्दिरा गिरी भने उपस्थित थिएनन् । 

प्रदेशसभा सदस्य गिरीले आफूलाई बैठकबारे जानकारी नदिइएको बताइन् । उनले भनिन्, ‘खुसीरामजीले दलको नेता छानिए भनेर जानकारी गराउनु भएको थियो । म काठमाडौँमा छु धनगढी गएपछि उनलाई मान्ने कि नमान्नेबारे छलफल गर्छु।’ 

यसअघि संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर र खुसिराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि दलको नेता परिवर्तन गर्न सहज भएको हो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update