Paschim Express
बझाङमा १६ गतेको भूकम्पपछि ३८० परकम्प

काठमाडौं । बझाङमा गएको मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प मापन गरिएको छ । त्यसयता ३८० परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरिएको केन्द्रको सुर्खेतस्थित कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार १.५ म्याग्निच्युडदेखिका परकम्प मापन हुन्छ । बझाङमा उक्त भूकम्पपछि यो अवधिमा ४ म्याग्निच्युडदेखि माथिका १३ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

तीमध्ये ५ म्याग्निच्युडदेखि माथिका चार परकम्प थिए । बझाङमा यो अवधिमा मापन गरिएका मध्ये शनिबार मध्याह्न पौने १२ बजेको ५।३ म्याग्निच्युडको परकम्प सबैभन्दा ठूलो थियो ।

गएको मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन दिउँसो २ बजेर ४० मिनेटमा बझाङकै तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्च्यिुडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update