Paschim Express
अस्ताए डडेल्धुराबाट उदाएका खेलकुदका हस्ती ‘लाल दाई’

डडेल्धुरा । पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ । खड्काको मंगलबार दिउँसो ११ बजे निधन भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो । घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाइएकोमा उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ ।

गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए । त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए ।

महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए । खड्का प्रशिक्षक रहँदा धनगढीमा भएको छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो ।

सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा, एक छोरी र श्रीमती छन् । सुदूरपश्चिमको खेल क्षेत्रमा लाल दाईका नामले परिचित खड्काको निधनले खेल क्षेत्रमा ठुलो क्षति पुगेको प्रतिक्रिया आइरहेको छ । धेरैले खेल क्षेत्रको हस्तीको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धान्जली दिएका छन् । 

डडेल्धुराबाट उदाएका थिए खड्का
२०२२ साल माघ १ गते डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ छचोडामा जन्मिएका खड्काको सिंगो परिवारमा नै खेलाडी छन् । जीतबहादुर खड्का र आमा नरपता खड्काका पाँच छोराहरुमध्ये साइलो छोराका रुपमा छचोडामा जन्म भएको थियो, लालबहादुरको ।

उनी ०३५ सालमा  खेलकुदमा प्रवेश गरेका थिए । फुटबलमा लागेको तीन वर्षमै उनले काठमाडौंमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलमा १६ वर्षकै उमेरमा डेब्यु गरेका थिए ।

त्यसपछि उनले पोखरामा ०४० सालमा भएको दोस्रो र ०४२ सालमा वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा पनि सहभागीता जनाएका थिए । उनले क्लबस्तरीय तथा आइजीपी कप लगायतका राष्ट्रिय स्तरका दर्जनौ प्रतियोगितामा भाग लिई नै रहेका बेला ०४४ सालतिर सक्रिय खेलाडीबाट सन्यास लिएर प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनले २४ वर्षे प्रशिक्षणका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरु जन्माएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update