Paschim Express
सौर्यको जहाज दुर्घटना: ४ जनाको शव फेला, मर्मतका लागि प्राविधिकसहित पोखरा जान लागेको थियो विमान

काठमाडौं ।  सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा लान खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको आफ्नै ह्याङ्गर नभएको र मर्मतका लागि केही दिन लाग्ने भएका कारण जहाज पोखरा लान खोजिएको थियो । जहाजमा प्राविधिक धेरै कर्मचारी रहेकाे बताइएकाे छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हाे । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

बम्बार्डियरको सीआरजे-२०० जहाजमार्फत विराटनगर र भद्रपुरमा दैनिक ३/३ वटा नियमित उडान गर्दै आएको छ ।

दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update