Paschim Express
२४ वर्षअघि डडेल्धुरामा पनि खसेको थियो विमान, २५ जनाले गुमाएका थिए ज्यान

डडेल्धुरा । हिजो(बुधबार) बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज ११ बजेर ११ मिनेटमा दुर्घटना भएको थियो । जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनिषरत्न शाक्य मात्र जीवित छन् । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार जारी छ ।

हिजो नै मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

यससँगै नेपालमा पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना भएको छ भने ४१० जनाले ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । सन् २०२३ मे १५ मा यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएकाे थियाे । 
धेरैलाई जानकारी नहुनसक्छ विगत २४ वर्षमा भएका विमान दुर्घटनामध्ये एउटा जहाज डडेल्धुरामा पनि खसेको थियो । २०५७ साउन १२ गते हालको परशुराम नगरपालिका-११ पतालमा ट्विन्टर यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २५ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये १९ वयस्क यात्रु, तीन बालबालिका र चालक दलका तीन सदस्य रहेका थिए । मृत्यु हुने सबै नेपाली थिए ।

बझाङबाट कैलालीको धनगढी विमानस्थल गइरहेको नाइन-एन एबीए कल साइनको रोयल नेपाल एयरलाइन्सको विमान खराब मौसम तथा बर्सातका कारण दुर्घटनामा परेको छानबिनबाट पत्ता लागेको थियो ।

क्यानाडामा निर्मित उक्त विमानमा १८ जनाको सीट संख्या रहेको थियो । तर त्यो उडानमा १९ यात्रु, तीन साना बालबालिका र तीनजना चालक दलका सदस्य रहेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update