Paschim Express
दाङमा गुडिरहेको ट्रकमा आगो सल्कियाे, कञ्चनपुरका जोशी घाइते

दाङ- दाङमा गुडिरहेको ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आगलागी भई जलेर नष्ट भएको हो ।

आइतवार बिहान लमही नगरपालिका–९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा करिब ४ः२५ बजेको समयमा ट्रकमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा चलिरहेको गाडीमा आफै आगो लागेको भन्ने देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने,‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाले छ ।’

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका–२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिनका आउँदै गरेको थियो । चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update