Paschim Express
कैलालीको गोदावरीमा २७  विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

काठमाडाैं । कैलालीमा स्कुल बस दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो ।

गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको छ । बसमा २७ जना विद्यार्थी सवार थिए भने बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए ।

घाइतेलाई अत्तरियास्थित पदमा अस्पतालमा ल्याइएको छ । बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

आज बिहान पाेखरामा विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको थियाे । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो ।

सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update