Paschim Express
बाजुराको बुढीनन्दा जानेलाई नि:शुल्क  खाना, बास र गाइड

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा घुम्न चाहनेका लागि नि:शुल्क खाना, बास र पथप्रर्दशकको व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलाका लागि बुढीनन्दा पुग्नेहरूलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो ।

बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह 'वाइल्ड बाजुरा'ले नि:शुल्क यात्राको व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ । हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तिर्थ यात्रा जनै पुर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर समुन्द्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण ठूलो संख्यामा तिर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

यो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट सुरु हुने उक्त धार्मिक यात्रा छाप्रे पाटन, लौडी विनायक, बरमाग्ने, चडिदह, धौलीपाटन, धौली भँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन हुनेछ । यात्रा अवधिभरि यात्रीलाई दुई छाक भोजन र रात्रीबासको लागि टेन्टको व्यवस्था गरिने वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले बताए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update