Paschim Express
बाजुरामा पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी

बाजुरा । पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित बडमिालिका नगरपालिका-८ नापी कार्यालय नजिकै मिना खातुन्ले सञ्चालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १२ जना बिरामी भएका हुन् । 

उनीहरू जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा भर्ना भएका छन् । बिरामी सबैजनामा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, पेट दुख्ने लक्षण देखा परेको चिकित्सकले बताएका छन् ।  बिरामीमध्ये कसैले पानीपुरी खाएको र कसैले सोही पसलमा चटपटे खाएपछि यस्तो लक्षण देखा परेको बताएको चिकित्सकको भनाई छ ।

सोमबार पानीपुरी र चटपटे खाएपछि आफुलाई रातभरी वान्ता र पखाला चलेको जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा उपचाररत सरिता थापाले बताइन् । शनिबार सोही पसलबाट छोरीले लिएर आएको चटपटे आएपछि आमा छोरी नै बिरामी परेको जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा उपचाररत अर्की बिरामी देवकी गिरीले बताएकी छन् ।

पानीपुरी र चटपटे खाएर बिरामी परेको कुरा जानकारीपछि जिल्ला प्रशासन कार्यालयले पसलबाट पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामानहरु बरामद गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगडीमा ल्याव परिक्षणका लागि पठाएको छ ।

ल्याब टेस्ट रिपोर्टपछि सञ्चालकमाथि आवश्यक कानुनी कारबाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी भिमकान्त पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update