Paschim Express
दिउँसै ‘टर्च’ बाल्दै सुदूरपश्चिमका सांसदले खोजे प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् ।

कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए ।

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। पहिलो र दोस्रो बैठकमा सहभागी भएकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आइतबार पदबाट हटाइदिएपछि सोमबारको बैठक सरकारविहीन भएको थियो ।

सोडारीले प्रदेश सभामा नजान ह्विप जारी गरेपछि पनि थापा पहिलो र दोस्रो बैठकमा सहभागी भएकी थिइन् । अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोड्‍ने मुड बनाएका मुख्यमन्त्री सोडारी अहिलेको विशेष अधिवेशन सञ्चालन नहोस् भन्ने चाहन्छन् ।

उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि कांग्रेस र एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए ।

पहिलो बैठकमा खासै छलफल नभएपछि आइतबार बसेको प्रदेश सभाको बैठकमा प्राकृतिक प्रकोपका बारेमा विषेश समय लिएर चार दलका चार सांसदहरुले बोलेका थिए। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update