डडेल्धुरा । निर्वाहमुखी खाद्यबाली छोडेर व्यवसायीक तरकारी खेती गर्ने लहर चलेसँगै डडेल्धुरामा तरकारी उत्पादन बढ्दै गएको छ । सुदूरपश्चिममा तरकारी उत्पादनमा अग्रणी स्थानमा रहेको डडेल्धुरामा हिउँदे, बसन्ते र बर्षे गरी तीन सिजनमा तरकारी खेती हुँदै आएको छ । जिल्लामा तरकारी खेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ भने तरकारी खेती गर्ने क्षेत्रफल समेत बढिरहेको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार जिल्लामा एक वर्षमा झण्डै ७० हजार मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा छ सय ६५ हेक्टरमा बर्षे तरकारी खेती गरिएकोमा आठ हजार नौं सय मेट्रिकटन ताजा तरकारी उत्पादन भएको छ । यस्तै चार सय ४० हेक्टरमा बर्षे आलु खेती गरिएकोमा १२ हजार पाँच सय मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै एक हजार तीन सय ७० हेक्टरमा हिउँदे तरकारीको खेती गरिएको थियो । १८ हजार चार यस ६० मेट्रिकटन ताजा तरकारी उत्पादन भएको छ । हिउँदे आलु १५ सय हेक्टरमा खेती गरिएकोमा ३० हजार मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा झण्डै साढे दुई अर्बको आलु मात्रै उत्पादन भएको छ । यसबाहेक, २५ करोडको बन्दा, १५ करोडको टमाटर, तीन करोडको प्याज पनि बर्सेनि उत्पादन हुँदै आएको छ ।
यस्तै, सिमी, केराउ, भेडे खुर्सानी, गाजर, रायो, मुला, ब्रोकाउली, काउली, बोडी, अकबरे खुर्सानी, खुर्सानी, भिन्टी, भान्टा, प्याज, काक्रा, फर्सी, करेला, लौका, धनीया, पालुङगो, चम्सुरको उत्पादन पनि बर्सेनि बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यकिन तथ्यांक नभए पनि जिल्लामा एक वर्षमा चार अर्ब बढीको तरकारी उत्पादन हुने गरेको छ ।
ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुका अनुसार डडेल्धुरा तरकारीमा आत्मनिर्भर छ । ‘यदी डडेल्धुरामा उत्पादित सबै तरकारी निर्यात नगर्ने हो भने यहाँ खपत हुनै मुस्किल हुन्छ,’ पनेरुले पश्चिमएक्सप्रेसलाई भने, ‘यहाँ उत्पादन भएको आधाभन्दा बढी तरकारी अन्य जिल्लामा निर्यात हुन्छ । त्यसैले डडेल्धुरामा पनि बर्सातको दुई महिना र सुख्खा खडेरीको समयमा केही तरकारी आयात भइरहेको हुन्छ ।’
डडेल्धुराबाट कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुला लगायतका जिल्लामा तरकारी निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार डडेल्धुरामा आयात भइरहेको तरकारीभन्दा बढी मूल्यको तरकारी यहाँबाट निर्यात भइरहेको छ ।
यहाँ उत्पादित तरकारीले अन्य जिल्लामा राम्रो मूल्य पाउने भएकाले पनि निर्यात बढेको किसानहरु बताउँछन् । ‘डडेल्धुराका होटल व्यवसायीहरुले सस्तो तरकारी खोज्ने भएकाले तराई र भारतबाट पनि तरकारी आउने गरेको छ,’ तरकारी किसान मोहन भट्टले भने, ‘तर, डडेल्धुराको तरकारी ब्राण्ड नै बनिसकेकोले अन्य जिल्लामा राम्रो मूल्य पाउँछ । त्यसैले हामीले तरकारी अन्यत्र पठाउने गरेका छौं ।’
कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्र शर्माका अनुसार डडेल्धुरा प्रदेशमा तरकारी उत्पादनमा अग्रणी स्थानमा छ । ‘डडेल्धुरा सबै खाले तरकारीमा आत्मनिर्भर भइसकेको जिल्ला हो,’ शर्माले भने, ‘तर, डडेल्धुरामा उत्पादित धेरै तरकारी अन्य जिल्लामा निर्यात हुने भएकाले डडेल्धुरामा पनि तरकारी आयात भइरहेको हुन्छ ।’
तरकारी उत्पादनका लागि डडेल्धुराको रुवाखोला, सकायल क्षेत्र, भेटा, धौलाकोट, ठूल्खाली, तडिबाटा, भात्काडा, डोटी घटाल क्षेत्र, पोखरा, ढाँटगाउँ, मालम, फिन्नेकोट, डोला, असुर्पा, डाँडावन क्षेत्र, बगरकोट, रुपाल, चुल्ल, सिराड, चप्परचौडी, हर्तोला लगायतका क्षेत्र प्रसिद्ध छन् ।
डडेल्धुरामा यसरी सुरु भएको थियो व्यवसायीक तरकारी खेती
०४५ सालमा आकाशबाट युद्धक विमान खसाउने हतियार ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याएको भन्दै नेपालसँग भारत रिसाएको थियो । सोही कारण तत्कालीन राजा वीरेन्द्र र भारतीय पक्षबीच सम्बन्ध धमिलिइरहेको थियो । नेपालले हतियार ल्याएपछि भारतले त्यसलाई आफूसँग विगतमा भएको सन्धिको उल्लंघन मानेको थियो । त्यसपछि भारतले नेपालमाथि १५ महिना लामो नाकाबन्दी ग¥यो । १० चैत ०४५ बाट सुरु भएको नाकाबन्दी १७ असार ०४७ मा अन्त्य गरिएको थियो ।
सो समयमा पनि रोजगारीका लागि डडेल्धुराका धेरै नागरिक भारतमा जान्थे । तर, नाकाबन्दीका कारण भारत आउजाउ रोकियो । भारतमा मजदुरी गर्नेहरु नाकाबन्दीपछि भारत जान पाएनन् । स्वदेशमा रोजगारीका पर्याप्त अवसर थिएनन् । मजदुरीका लागि भारत जान नपाएका र स्वदेशमा रोजगारी नपाएकाहरुले तरकारी खेतीमा राम्रो सम्भावना देखे ।
सोही समयमा डडेल्धुराका गाउँगाउँमा तरकारी खेती थालिएको थियो । सुरुमा आफ्नै लागि तरकारी उत्पादन गर्न थालिएकोमा पछि धेरैले त्यसलाई व्यवसायिकता दिन सुरु गरे । डडेल्धुराका गाउँगाउँमा तरकारी उत्पादन हुनुको मुख्य कारण ०४५ सालको नाकाबन्दी हो भन्छन् अजयमेरुका ज्येष्ठ नागरिक हरिकृष्ण जोशी । ‘त्यो समयमा तरकारी मात्रै सबै कृषि उपज उत्पादन हुने गरेको थियो,’ उनले भने, ‘अहिले त परनिर्भरता बढेको छ ।’