डडेल्धुरा । डडेल्धुरामा समूह नै गठन गरेर व्यवसायिक कृषि खेती गर्नेको संख्या बढ्दै गएको छ । कतै देवीदेवताका नामले कृषि समूहहरु दर्ता भएका छन् भने कतै घर परिवारका नाम र गाउँका नामबाट । कृषि अनुदान माग गर्न, कृषि पाठशाला सञ्चालन गर्न तथा कृषि वचतका लागि समेत समूहहरु गठित छन् ।
ती समूहहरुस्थानीय तह र प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति लगायतका सरकारी निकायमा दर्ता हुने गरेका छन् । समिति र समूहहरुले आफ्नो विधि तथा विधान बनाएर मात्र दर्ता गर्न पाउँछन् र गरिरहेका पनि छन् ।
सामुहिक खेतीका लागि अहिले विशेष रुपमा यहाँका गाउँहरुमा एउटा गाउँ नै भेला भएर समूह गठन गर्ने तथा समूहको वृद्धि विकासका लागि छलफल गर्ने गरेको कृषकहरुको भनाई छ ।
समूहहरुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरु हुन्छन् । नेतृत्व विकासका लागि समेत समूह छलफल तथा समूह गठन उपयुक्त हुँदै गएका छन् । तर, समूहमा धेरै महिला नै सक्रिय भएपनि अध्यक्ष लगायतका मुख्य पद भने पुरुषले ओगटेका छन् ।
कृषि उत्पादनदेखि मल निर्माण तथा उत्पादन पिठ्युमा बोकेर बजारसम्म पुर्याउनमा समेत महिलाहरुकै भुमिका हुने गरेको छ । तर, समूहहरुको नेतृत्वमा भने अझै पुरुष नै हुने गरेका उदाहरण प्रशस्तै पाइन्छन् । समूहको नेतृत्व मात्र हैन् । पुरुषहरुले नै तोकिदिएको मूल्यमा उत्पादन बेच्न महिलाहरु बाध्य छन् । जसको उदाहरणमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ मा पर्ने सिरोला गाउँको एक समूहलाई लिन सकिन्छ ।
यहाँका कृषकहरुले प्रगतिशिल कृषि समूह गठन गरेको करिब ३ वर्ष भयो । उनीहरुले राम्रै कृषि उत्पादन गरिरहेका छन् । २२ घरपरिवार संगठित भएर प्रगतिशिल कृषि समूह सरकारी निकायमा दर्ता गरेका हुन् ।
२२ परिवारबाट एक÷एक सदस्य गरेर २२ सदस्य यो समूहमा आवद्ध भएका छन् । २२ सदस्यमा २१ जना त महिला सदस्य छन् । दुईजना पुरुषमध्ये अध्यक्ष कमलबहादुर साहुमा गाउँमा छन् । अर्को सदस्य पुरुष केही वर्ष पहिले विदेश पलायन भइसकेका छन् ।
२२ सदस्यमा यो समूहमा अध्यक्ष मात्र पुरुष छन् । महिला बहुमत सदस्य भएपनि महिलाले अध्यक्ष पद किन लिएनन् ? महिला अहिलेसम्म सक्षम भएनन् ? यी प्रश्न त उठेका छन् ।
तर, महिलाहरुले नै पुरुष अध्यक्ष हुँदा सरकारी काममा सहज भएको बताउने गरेका छन् । यद्यपि केही महिलाले समूहको अध्यक्ष महिला नै हुनुपर्ने आवाज उठाउन थालेका छन् । तर उनीहरुको सुनुवाई अहिलेसम्म भएको छैन । कोषाध्यक्ष लगायतका पदमा भने महिला नै छन् ।
एक सिँचाई पोखरी बनाएर कृषिमा खटिएका अध्यक्ष कमललाई पनि समूहको अध्यक्ष भैरहने रहर छैन । महिलाहरुमध्ये एक जनाले अध्यक्ष हुनुपर्ने उनको भनाई छ ।
उनले भने, ‘कृषि समूहमा महिलाहरुलाई नै अध्यक्ष हुनुहोस् भनेका छौँ । केही अनुदान वा सहयोग कार्यक्रम आए हामी सक्दैनौं, खटिनुपर्छ । तपाई नै हुनुपर्छ भन्छन् । अब त महिलालाई नै दिने हो । काम त सिक्छन् ।’
१२ महिना आलुसहितका तरकारी फलाउने सिरोला गाउँका अधिकांश पुरुष विदेशमा छन् । महिलाले विदेशमा भएका श्रीमानबाट घरखर्च तथा छोरीछोरी पढाउन विद्यालय शुःल्क माग्ने गरेका छैनन् ।
महिलाले धानेको तरकारी खेती
गाउँका पुरुषहरु खेतबारीमा काम गर्न नरुचाइदिने भएर अहिले अधिकांश खेतबारी तथा तरकारी उत्पादन महिलाको जिम्मेवारीमा थप भएको छ । हलो जोत्न पुरुष खोज्नुपर्ने परम्परा समेत अहिले हातेट्क्याटरले हटाइदिएको छ ।
मैनाकी ३१ वर्षीया बुहारी पदमा पालका श्रीमान विदेशमा छन् । भने मैनाका श्रीमान तथा पदमा ससुरा बाबाको मृत्यु भइसको छ । घरमा दुईजना महिला मात्र बस्छन । दुई महिलाले तरकारी उत्पादनबाट राम्रो आम्दानी गरेका छन् । २२ वर्षदेखि तरकारी उत्पादनमा अनुभव बटुलेकी सासु मैनासँगै बुहारी पदमा विषादीयुक्त तरकारी उत्पादनमा तल्लीन छिन् ।
तीन छोराकी आमा तथा तीन बुहारीकी सासु मैनाको तरकारी प्रतिको मोह छोराले विदेशमा कमाएको पैसाले समेत टसमस भएको छैन ।
बुहारीको तन्नरी जोशले मैनालाई प्राङ्गारिक तरकारी उत्पादन गर्न बुढेसकाल लागेको अनुभव नै छैन । दुई रोपनी जग्गा आफ्नो र दुई रोपनी जग्गा मते (पछि फिर्ता हुने गरी जग्गा प्रयोग गरेमार्फत पहिले नै दिइने धरौटी रकम) गरी चार रोपनी जग्गामा बेमौसमी तथा हिउँदे तरकारी खेती गर्ने गरेको मैनाले बताइन् ।
पाखो तथा सिँचाई नहुने जमिनमा आकाशको वर्षाको भरमा खेती गरिन्छ । भने, अलिअलि सिँचाईको सुविधा भएको जग्गामा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारीहरु फलाउने गरिएको छ । क्यान्सरका कारण श्रीमान् गुमाएकी मैनादेवीले उनकोे उपचारमा लागेको खर्च ऋण तिर्न बेमौसमी तरकारी उत्पादन गर्ने पेशा एक मजबुद सहारा बन्नेको छ ।
त्यति मात्र होइन । उनले तरकारी बिक्रिबाट भएको बार्षिक तीन लाख आम्दानी र विदेशमा रहेको छोराहरुको सहयोगले जिल्ला सदरमुकाम भन्दा ७ किलोमिटरमा पर्ने स्थानीय पोखरा बजारमा तीन तले घर निमार्ण गरेकी छिन् ।
‘ऋण तिर्न तरकारी बिक्रि त छ नै यही बिचमा उ त्यो पोखरा बजारको घर पनि बनाएका छाैं’ तरकारी बारीबाटै घर देखाउँदैन मैनाले भनिन्, ‘त्यही घरमा अहिले बुहारीले तरकारी पसल पनि थापेकी छिन्। तरकारी सिधै खेतबाट बिक्री गरे खासै भाउ पाइदैन् । त्यसैले पसलबाट नै बिक्री गर्छौ । पसलबाट पनि बिक्री नभए कमै मुल्यमा डडेल्धुरा बजारका व्यपारीलाई दिनुपर्छ ।’
प्रगतिशिल महिला कृषि समूहकी कोषाध्यक्ष समेत रहेकी बुहारी पदमाले बिहानबेलुका खेतबारीमा काम गरेपछि दिउँसो तरकारी पसल समेत सञ्चालन गरेकी छन् । परिश्रम गरेर उत्पादन गरेको तरकारीमा बिचौलिया लाग्ने डरबाट उनी ढुक्क छिन् । तरकारी पसलबाट उनले गाउँलेहरुको तरकारी समेत बिक्री गर्न सहयोग गरेकी छिन् ।
प्राङ्गारिक तरकारी उत्पादनका लागि अहिले उनले घरमै गड्यौले मल बनाउन थालेकी छिन् । कृषि उत्पादन बढाउन कुनै निकायबाट अनुदान नपाएकी उनलाई अहिले एक गैर सरकारी संस्थाको १० हजार सहयोगले गँड्यौले मल एकाई (भेर्मिकम्पोष्ट युनिटी) ६ फिट लामो, २ फिट चौडाइ र २ फिट उचाईको निर्माण गरेकी छन् ।
सानो रकममा इँटा बालुवा र सिमेन्ट प्रयोग गरी बनाउँदा उचित र टिकाउ बनेको उनको भनाई छ । उनले भनिन्, ‘गँड्यौले मल बनाउन हामीले सानो खाल्डो यत्तिकै बनाउने गरेका थियौ । त्यो खासै काम लागेन । अहिले सिमेन्टकै बनाएपछि राम्रो मल उत्पादन भएको छ, बजारबाट मल किन्ने सयम र पैसा जोगिएको छ ।’
यहाँका गाउँका अधिकांश पुरुष घरमा नभएपछि महिलाले नै कृषि व्यवसाय सञ्चालन गरेको उनले बताइन् । ‘तल्लोमल्लो वल्लोपल्लो घरका पुरुषहरु घरमा छैनन् । गाउँका अधिकांश महिला मात्र तरकारी खेतीमा छन्’ पदमाले भनिन्
गाउँमा अहिले झोल मल बनाउने विधिदेखि कृषक दिपक साहु र अध्यक्ष कमलको घरमा जीआईजेड नेपालले सानो सिँचाई पोखरी निर्माण गरेर सहयोग गरिदिएको थियो । २२ परिवारलाई अहिले सिँचाईको समस्या धेरै नै छ ।
पोखरा बजारमाथि रहेको ठूलो पोखरी जिर्ण भएपछि सिँचाइको समस्या सिर्जना भएको हो। सानो पोखरी निर्माण त भएको छ तर सिरोला गाउँ जस्तै तरकारी उत्पादन गर्ने गाउँहरु धेरै भएकाले बेमौसमी तरकारी खेती उत्पादनमा समस्या हुने गरेको कृषक चन्द्रा कठायतले गुनासो गरिन् । कुनै समयमा त गाउँमा पानीका लागि निकै झगडा हुन्छ। अनि समुहमा बसेर छलफल गर्नुपर्ने आवस्था आउनले उनले बताइन् ।
किन नेतृत्वमा पुगेनन् महिला ?
सामाजिक संस्थाहरुको नेतृत्व गर्ने स्थानहरु अहिले गाउँठाउँमा धेरै छन् । विद्यालय व्यवस्थापन समिति, बचत समूह, कृषि समुह, आमा समूह, टोल विकास समिति, उपभोक्ता समिति, मन्दिर व्यवस्थापन समिति, मेला व्यवस्थापन समिति लगायत समाजिक काममा नेतृत्वदायी भुमिका निर्वाह गर्ने ठाउँहरु छन् ।
तर, महिलाहरु घरबारी व्यवस्थानमै समय बिताउने भएकाले कुनै संस्थाको नेतृत्व गर्न नरुचाएको हो कि भन्ने बहस हुन थालेका छन् । हुन त अहिले नेपालको संविधानले दिएका अधिकार तथा संविधानको कार्यान्वयन गर्दै स्थानीय तहमा उपप्रमुख तथा कार्यपालिका सदस्य, वडा सदस्य महिलाहरु छन् । भने, प्रदेश र संघमा समानुपातिक र प्रत्यक्ष गरेर महिलाहरु अगाडी भएका छन् । तर दुर्गम गाउँका महिला अझै घरबाहिरको कार्यालयको काम गर्न डराउने गरेको अमरगढी नगरपालिका डडेल्धुराकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा रावलको भनाई छ ।
नगरपालिकाले हरेक वर्ष महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने गरेको उनको दाबी छ । तर पनि महिलाहरु घरबाट बाहिर जाने वातावरण नभएर वा नमिल्ने भएका कारण नेतृत्व गर्न डराएका छन् । रावलले भनिन्, ‘महिला विकास कार्यालय भएको समयमा समूह गठन भएका छन् । त्यसमा हामीले क्षमता विकासका तालिम दिने गएकै छाँै । टोल विकासमा सहभागिता बढाएकै छौं । समूहहरुमा आवद्ध संख्या पुरुषको भन्दा बढी महिलाकै छ ।’
आधा आकाश ढाक्ने महिलाहरुले अब विकास निमार्णका कामको उपभोक्ता समिति कोषाध्यक्ष मात्र हैन अध्यक्षकै जिम्मेवारीमा आउनुपर्ने अधिकारकर्मी सुनिता गैरेको सुझाव छ ।