Paschim Express
आतंकवादी हमलामा इजरायलमा ७ जना नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको बताए । उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिए पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागे पनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । 

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । 

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको  लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने संसदलाई जानकारी गराएका थिए । रातोपाटीको सहयोगमा
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update