डडेल्धुरा । आज साउन १७, सहिद भीमदत्त पन्तको स्मृति दिवस । उनको जन्मथलो डडेल्धुरा र कर्मथलो कर्मथलो कंचनपुर लगायतका जिल्लामा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ।
कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलौरीसँगै डडेल्धुराको बागबजारमा सहिद भीमदत्तको सालिकमा माल्यार्पण गर्ने गरिएको छ ।
सहिद पन्तको जन्म वि.सं. १९८३ साल मंसिर १० गते डडेल्धुरा जिल्लाको कारीगाउँमा भएको थियो । सहिद भीमदत्तले ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी) सँग विवाह गरेका थिए । भीमदत्त दम्पतीका दुई छोरा र एक छोरी जन्मे पनि जीवित रहेनन् ।
१५ वर्षको उमेरमा भारतको उत्तरप्रदेश सिंघाईबाट हाईस्कुल पास गरेपछि उनी स्वदेश फर्किएका थिए । गृहजिल्ला फर्केपछि उनले डडेल्धुराको बिरखममा संस्कृत पाठशाला खोले । त्यसपछि भीमदत्तले केही अन्तरालमा तल्लो सोरड र रूपालमा पनि पाठशाला खोलेका थिए ।
२००१ सालमा भारत पढ्न गएका भीमदत्त त्यतिबेला भारतमा अंग्रेज हटाउ आन्दोलनमा सहभागि हुँदा पक्राउ समेत परेका थिए । २००३ सालमा छुटेपछि उनले डडेल्धुराको शैक्षिक तथा सामाजिक परिवर्तनमा प्रमुख भूमिका निर्वाह गरेका थिए । बाहुन परिवारमा उनको जन्म भए पनि उनले दलितका घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा समेत गरेका थिए ।
भीमदत्तले नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उनले कांग्रेस छाडे । त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका भीमदत्तले २००९ सालमा काठमाडौँ पुगेर पार्टीसँग सम्पर्क गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित, मगर र थारूहरू सङ्गठित गरी मुक्ति सेना गठन गरे । यसमा नेपालगञ्जका गौरीलाल र रुपिसिंह दुई जना सेनाका कमान्डर थिए ।
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही भीमदत्तले किसानको हक हितमा आवाज उठाएका थिए । त्यति सर्वसाधारणले नुनसमेत खान नपाएको देखेर नुन आन्दोलनको घोषणा गरी कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबहरूलाई नुन वितरण समेत गरेका थिए ।
उनी ‘जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन’ आन्दोलनमा समेत सक्रिय भएर लागेका थिए । उनले किसानका जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरू विरुद्ध कारवाहीसँगै दलितले पकाएको भान्सामा खाना खान लगाएका थिए ।
सरकारी संयोजनमा भएको हत्या
तत्कालीन सरकारले भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोझा किसानहरूलाई भड्काएर देशद्रोह र राजद्रोह गरेको आरोप लागेको थियो उनलाई ।
सोही आरोपमा १७ साउन २०१० मा डडेल्धुराको गल्लेकका स्थानीय हमजाली मगरको घरमा खाना खाइरहेको अवस्थामा लालबहादुर थापाले गोली प्रहार गरी उनको हत्या गरे । जबकि लालबहादुर भीमदत्तका मीत थिए ।
हत्या गरेपछि उनको टाउको छुट्याएर १८ साउनमा डडेल्धुरा, गोश्वाराअगाडिको भैरवस्थानमा बाँसको लिङ्गोमा झुन्ड्याएर बीभत्स रूपमा प्रदर्शन गरिएको भनी अध्येताहरूले उल्लेख गरेका छन् । टाउकोमुन्तिर लेखिएको थियो– ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ’ ।
त्यसबेला डडेल्धुराका बडाहाकिम मोहनबहादुर सिंह थिए । भीमदत्तको समूहलाई दबाउन नेपाली र भारतीय दुवैतर्फका सेना प्रयोग गरिएको कुरा विभिन्न लेख तथा रिपोर्टहरूमा उल्लेख भएको पाइन्छ ।
त्यसअघि २४ असार २०१० मा भीमदत्त र उनको लडाकु दस्ताले कञ्चनपुरको बेलौरीमा रहेको मालअड्डा, बैँक, प्रहरी थाना, गोश्वारा सबै कब्जा गरेको थियो । उनले आफ्नो विद्रोहको मुख्य एजेन्डा किसान मुक्तिलाई बनाएका थिए ।
मजदुर किसान, गरिब किसान, मध्यमवर्गीय किसान, धनी किसान र जमिनदार किसान गरी उनले किसानहरूको वर्गीकरण गरेर क्रान्ति अघि बढाए । गरिब किसानहरूको साथ लिएर उनी राज्यको कालो बजारी नीतिको विरोधमा उत्रे । कञ्चनपुरको ब्रह्मदेवमा भन्सारका कर्मचारीहरूले कालो बजारी गर्न नुनको कृत्रिम अभाव सिर्जना गरेको खबर पाउनासाथ भीमदत्त त्यहाँ पुगेर भन्सारलाई नियन्त्रणमा लिई नुन बाँडिदिए ।
तत्कालीन कैलालीका बडाहाकिम धैर्य शमशेरले भीमदत्त र उनका राजनीतिक गुरु भारतीय कम्युनिस्ट पार्टीका नेता कृष्णस्वामी अयंगरलाई पक्राउ गरी बन्दी बनाए । कृष्णस्वामी भारत सरकारलाई सुपुर्दगी गरे भने भीमदत्तलाई बेलौरी जेलमा थुने ।
१० असार २०१० मा उनी बेलौरी जेल ब्रेक गरी भाग्न सफल भए । त्यसपछि सशस्त्र क्रान्तिको योजनासहित डडेल्धुरातर्फ अघि बढ्दै गर्दा १७ साउनमा सैन्य कारबाहीमा उनको मृत्यु हुन पुग्यो ।