Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी हट्दै, नयाँ मुख्यमन्त्री देउवा !

डडेल्धुरा । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाकाे नाम अगाडि सारिएको छ ।  भोलि (शुक्रबार) दिउँसो २ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले पश्चिमएक्सप्रेसलाई बताए ।

केन्द्रमा सहमति भइसकेकाले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको बताइएको छ । 

देउवा सुदूरपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनको पक्षमा बहुमत सदस्यहरू हुने दाबी भएकाले सकभर सहमतिमै दलको नेता छान्ने तयारी भएको छ । 

कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकासमन्त्री देउवा, प्रदेशसभा सदस्यहरु बहादुरसिंह थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।

नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो ।  

सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन् । कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन् । 

उता नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सात जना प्रदेश सभा सदस्यहरू छन् । नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको छैन । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रहेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकार भोलि नै ढल्ने निश्चित भएको छ । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनका लागि ४ बजेको समय माग गर्दै प्रदेश सभा सचिवालयलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार सोडारीले भोलि कुनै पनि तवरले विश्वासको मत नपाउने अवस्था रहेको हुँदा प्रदेश सभालाई मात्र सम्बोधन गर्दै राजीनामा दिने आन्तरिक सोचाइमा छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update