Paschim Express
सुदूरपश्चिमबाट इजरायल गएका १२ विद्यार्थी सम्पर्कविहीन, उद्धारका लागि मुख्यमन्त्रीको अनुरोध

डडेल्धुरा । सुदूरपश्चिमबाट अर्न एण्ड लर्नका लागि इजरायल गएका ४९ विद्यार्थीमध्ये १२ जना सम्पर्कविहीन भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई आज जानकारी गराउँदै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १२ जनाको अवस्था अझै अज्ञात रहेको बताएका हुन् ।

शनिबारबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् ।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले घाइते र सम्पर्कविहीन विद्यार्थीको खोजी र उद्धारका लागि आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री शाहले सम्पूर्ण विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्नका लागि आग्रह गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update