Paschim Express
सुदूरपश्चिममा आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

डडेल्धुरा । सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रदेश प्रमुख नजिर मियाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा तीन दिनभित्र दाबी पेश गर्न आव्हान गरेका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि शुक्रबार साँझ नै प्रदेश प्रमुख मियाले आइतबार बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका हुन् ।

सुदूरपश्चिममा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने तयारी गरेका छन् । दुई दलबीच प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ । काँग्रेसका १८ र एमालेका ११ सदस्य छन् ।

सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान तयार छ । नयाँ सरकार गठनका लागि आव्हान भए पनि काँग्रेसले मुख्यमन्त्रीमा कसरलाई अघि सार्ने भन्ने निर्णय शुक्रबारसम्म गरिसकेको छैन ।

काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका सम्बन्धमा निर्णय भइनसकेको उल्लेख गर्दै पार्टी सभापतिले निर्णय गर्ने बताए । ‘मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय केन्द्रीय नेतृत्वले गर्छ । नेतृत्वको निर्णयअनुसार हामी अगाडि बढ्छौँ,´ उनले भने ।
काँग्रेसमा मुख्यमन्त्रीका लागि संसदीय दलका नेता शाह, सांसदहरु प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्टले दाबी गरेका छन् । 

मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष पदबाट राजीनामा दिनुअघि प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो । तर मुख्यमन्त्री सोडारी मतविभाजनमा नगइ मार्ग प्रशस्त गरेको घोषणा गरे । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी गत ६ बैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update