Paschim Express
सुदूरपश्चिममा काँग्रेसले कसलाई बनाउला मुख्यमन्त्री ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशले आइतबार पाँचौ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

नेपाली काङ्ग्रेस र एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने सहमति भएसंगै काङ्ग्रेसले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछ । काङ्ग्रेसले मुख्यमन्त्रीमा कसलाई अगाडि बढाउछ भन्ने विषयमा भने चासो बढेको छ ।

काङ्ग्रेसबाट मुख्यमन्त्रीका लागि संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री प्रकाशबहादुर देउवा, प्रदेशसभा सदस्य बहादुर थापा र दिवानसिंह नाम चर्चामा छ । तर, कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेश गर्ने तयारी गरेका छन् ।
यद्यपि मुख्यमन्त्री कसलाई बनाउने निर्णय भने भएको छैन । उक्त निर्णय आइतबार बिहान ११ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ ।

कांग्रेसका सुदूरपश्चिमका एक नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update