Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका शाहको दाबी पेश

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष शाहले प्रदेशको पाँचौ मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । 

उनलाई नेकपा एमालेले पनि समर्थन गरेको छ । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा आइतबार ५ बजेसम्म दाबी पेश गर्न आव्हान गरेका थिए । 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका थिए । शाहले दाबी पेश गरेसंगै आज नै उनी मुख्यमन्त्रीमा नियुक्त हुने लगभग पक्का छ । 

शाहाले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि अल्पमतमा परेका उनले गत चैत २२ चैतमा राजीनामा दिएका थिए । 

५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update