Paschim Express
बडीमालिकाको पूजा गर्न डोटीबाट सरकारी टोली प्रस्थान

डोटी । डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ।  बाजुरामा अवस्थित बडीमालिका भगवतीको पूजाआजा गर्न डोटीबाट हरेक वर्षझैं यसवर्ष पनि सरकारी टोलीलाई विदाइ गरिएको हो ।

बाजुरामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ । सरकारी कर्मचारीहरूको एक टोलीले नै उक्त पेटारो लैजाने गर्दछन् । यो चलन वर्षौंदेखि चलिरहेको छ।

नेपाल एकीकरणपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भएपनि पछिल्ला सयम नेपालमा राज्य सञ्चालन गर्ने शाह बंशीय राजा,राणाकालिन अवस्थाका बडा हाकिम तथा हालका सरकारहरूले समेत पूजा सामग्री पठाउने चलन रहेको छ ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पूजा गरी विशेष मन्त्रले बाँधी पेटारोका साथ सरकारी टोलीलाई विदाइ गरिन्छ’,शैलेश्वरी मन्दिरका मुलपुजारी प्रेम शंकर भट्टले भने,‘ठाउँ–ठाउँमा बास बसी १५ दिनपछि पेटारो बडीमालिका पुग्ने गर्दछ ।’ 

बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामीसहित टोलीलाई विदाइ गर्ने चलन रहेको छ ।

सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम,बाजुरा जिल्लाको सुरक्षा समितिसँग समन्वय भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको प्रशासन कार्यालयले जनाएको छ । सरकारी टोली भाद्र ३ गते मालिकामा सम्पन्न हुने विशेष पूजामा सरिक हुनेछ । धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकीय क्षेत्र बडीमालिकालाई ठूलो शक्तिपीठका रुपमा हेर्ने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update