Paschim Express
कञ्चनपुरमा गएको असार २३ र २४ गते आरीघोप्टे वर्षा भएको निष्कर्ष

काठमाडाैं । एक महिनाअघि कञ्चनपुरमा भएको अत्यधिक वर्षा ‘क्लाउड ब्रस्ट’ (आरीघोप्टे) रहेको जल तथा मौसम विज्ञान विभागले निष्कर्ष निकालेको छ । दोधारा–चाँदनी नगरपालिकामा रहेको वर्षा मापन केन्द्रमा २३ असारमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएपछि विभागले स्थलगत अध्ययन गर्दा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायु विकास भएको न्यूनचापीय प्रणालीको समिश्रणबाट अत्यधिक वर्षा भएको निष्कर्ष निकालिएको हो । 

विभागका अनुसार हनुमाननगर केन्द्रमा एक घन्टामै १०२ मिलिमिटर वर्षा भएको छ ।  विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल नेतृत्वको अध्ययन टोलीले प्रतिवेदनमा भनेको छ, ‘यी प्रणालीको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउड ब्रस्ट’ मान्न सकिन्छ ।’ २३ असारमा दोधारामा ६२४ मिमि, हनुमाननगरमा ५७३.६ मिमि र सुन्दरपुरमा ५५६ मिमि वर्षा रेकर्ड भएको थियो । 

२४ घन्टामा ६२४ मिमि वर्षा रेकर्ड भएपछि कतिपयले प्राविधिक त्रुटिको आशंका गरेका थिए । तर, दोधारा र हनुमाननगरमा क्षेत्रमा जडित स्वचालित वर्षा मापन उपकरण विभागको मापदण्डभित्रै रहेको पाइएकाले तथ्यांक सही ठहर गरिएको छ । तर, सुन्दरपुरमा जडित उपकरणबाट प्राप्त तथ्यांक भने मापदण्डभन्दा फरक परेकाले थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । सुन्दरपुरको स्वचालित वर्षा मापन उपकरणको औसत त्रुटि माइनस १२.४ प्रतिशत छ । यसबाट वास्तविक वर्षाभन्दा कम वर्षा भएको पाइएकाले सो स्वचालित रेनगज (वर्षा मापक उपकरण) प्रयोगशालामा ल्याई थप चेकजाँच गर्न अध्ययन टोलीले सुझाव दिएको छ । कञ्चनपुरमा रेकर्ड भएको यो वर्षा ७७ वर्षयताकै धेरै हो । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update