Paschim Express
डडेल्धुरा सदरमुकाममा जीप दुर्घटना : घाइते एकजनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा जीप दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ।

बिहीबार अपराह्न सवा ४ बजेतिर सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ बसपार्क नजिकै नालीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुगाउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेकको उनले बताए ।

घाइतेमध्ये इश्वरीलाई धनगढी रेफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

जीपमा चालकसहित ८ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update