Paschim Express
डडेल्धुरा ओहोरदोहोर गर्दा भरेका थिए ‘सपनाको उडान’, १४ हजार घण्टा उडाइसके विमान

डडेल्धुरा । उनले अहिलेसम्म झण्डै १४ हजार घण्टा आकाशमा बिताइसकेका छन् । पाँच हजार घण्टा त नेपाली आकाशमा पनि विमान उडाइसकेका छन् । यो सफलताको पछाडि छ, धनगढी–डडेल्धुरा राजमार्ग । उनी भन्छन्, ‘आफू पाइलट हुनुमा त्यस बेलाको धनगढी–डडेल्धुरा राजमार्ग निर्माण परियोजना नै मुख्य प्रेरणा हो ।’

उनी, अर्थात् क्याप्टेन वेद उप्रेती । कैलालीको गोदावरी नगरपालिकामा ०२० साल साउनमा जन्मेका पाइलट उप्रेतीलाई महिना दिन नपुग्दै पहाडको घरमा ल्याइयो । डडेल्धुरा जिल्ला सदरमुकाममै रहेको अमरगढी नगरपालिकाको हटगाउँमा छ, उनको पहाड घर । उप्रेतीले त्यसपछिको बाल्यकाल कहिले कैलाली त कहिले डडेल्धुरामा बिताए । 

५/७ वर्षको उमेरमा छँदा धनगढी–डडेल्धुरा ६ दिन हिँडेर धेरैपटक ओहोरदोहोर गरेको सम्झना उप्रेतीलाई अहिले पनि छ । हुन त ०१८ सालतिर डडेल्धुरा सडक निर्माणको चर्चा सुरु भएको थियो । तर, ०२० पछि मात्रै सडक रेखांकन र ट्र्याक खोल्ने काम सुरु भएर ०२९ सालमा पहिलोपटक डडेल्धुरामा गाडी पुगेको हो । सडक निर्माणकै क्रममा उप्रेतीले धेरैपटक हिँडेर धनगढी–डडेल्धुरा ओहोरदोहोर गरिसकेका थिए । 

उक्त परियोजनामा उप्रेतीका मामा पनि कार्यरत थिए । सो क्रममा उनको भेट सिभिल इन्जिनियरहरूसंग हुन्थ्यो । अहिले भारतमा रहेका उप्रेतीले टेलिफोनमा भने, ‘सायद त्यो समयमा इन्जिनियरहरुसंग भेट नभएको भए पाइलट हुन्थेन होला । भविष्यमा साइन्स पढेर इन्जिनियर बन्ने र पहाडमा सुन्दर सडक बनाउने लक्ष्य मैले सोही समयमा राखेको हुँ । पछि इन्जिनियरको सपना पूरा गर्दागर्दै पाइलन बन्न पुगे ।’

१० कक्षासम्म कैलालीमा अध्ययन गरेका उनले सोही लक्ष्य पूरा गर्न महेन्द्रनगर गएर प्रमाणपत्र तहमा विज्ञान विषय लिएर पढ्न थालेका थिए । त्यसपछिको पढाई जवाहरलाल नेहरू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे । 

उप्रेतीले ०४० सालमा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा जागिर सुरु गरेका थिए । सेनाबाट उनले भारतको पुनास्थित नेसनल डिफेन्स एकेडेमी र हैदरवादको इन्डियन एयरफोर्स एकेडेमीमा पाइलट तालिम लिने मौका पाए । 

भारतबाट फर्केपछि उप्रेतीले १२ वर्ष सेनामा बिताए । त्यसपछि सेनाको जागिर छाडेर त्यतिबेलाको नेकोन एयरको विमान उडाए । त्यो बन्द भएपछि भारतको एयर डेकोन, किंगफिसरको विमान उडाए । त्यसपछि इन्डोनेसियाको लायन एयरमा एटीआर विमान उडानमा संलग्न थिए उप्रेती । लायनमा क्याप्टेन उप्रेती जहाज उडाउने पाइलटहरूको तालिम जाँच गर्ने शिक्षक पाइलट पदमा कार्यरत थिए । अहिले भने उनी भारतको एलाइन्स एयरमा कार्यरत छन् । 

उप्रेतीले बनाएका थिए नेपालमै पहिलो हवाई संग्रहालय
‘संग्रहालयभित्र विमान हुन्छ । तर, मैले विमानभित्र संग्रहालय तयार गरेको छु,’ ०७१ साल असोज १ गते धनगढीमा सञ्चारकर्मीसंग कुराकानी गर्दै क्याप्टेन वेद उप्रेतीले भनेका थिए । उप्रेतीका अनुसार विमानभित्र संग्रहालय सञ्चालन गर्नु विश्वकै लागि अनुपम थियो भने नेपालकै पहिलो पनि । 

उनले एक करोड २५ लाख रुपैयाँ लागतमा पुरानो जहाजको बाहिरी आवरणलाई किनेर धनगढीमा एयरक्राफ्ट म्युजियम बनाएका थिए । कस्मिक एयरको १०० सिट क्षमताको पुरानो जहाजलाई उप्रेतीले म्युजियम बनाएका थिए । अहिले उक्त म्युजियम नेपालगञ्ज हुँदै कञ्चनपुरको महेन्द्रनगरमा सारिएको छ । फोटोग्राफी र घुम्नका सौखिन उनले देश–विदेश घुम्ने क्रममा क्यामरामा कैद गरेका फोटोहरू एयरक्राफ्टभित्रै प्रदर्शनीको व्यवस्था गरेका थिए । ककपिट र क्याबिनमा पाइलट र एअरहोस्ट्रेसको युनिफर्ममा आफ्नो फोटो खिच्न सकिने व्यवस्था गरिएको थियो ।

‘हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गर्नुपर्छ भन्ने लाग्छ मलाई,’ उप्रेतीले भने, ‘मैले नै विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा पनि स्थापना गरेको थिए । उक्त सङ्ग्रहालयले पनि आन्तरिक र बाह्य पर्यटक तान्न सफल भएको छ ।’

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर म्युजियम बनाएको हो । सो म्युजियम सञ्चालनका लागि करिब सात करोड बढी खर्च भएको उनी बताउँछन् ।

सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गर्न पुस्तक प्रकाशन

क्याप्टेन उप्रेती ‘वेद उप्रेती ट्रस्ट’मार्फत विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् । गत वर्ष मात्रै उनले ‘दुर्गम विस्मयलोक÷भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ कृति लोकार्पण गरेका छन् । ०८० साल फागुनमा राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका थिए ।

उप्रेतीले १० वर्षको प्रयासपछि सुदूरपश्चिमको वास्तविक चित्रण गर्ने पुस्तक पाठकसमक्ष ल्याइएको बताएका थिए । ‘पुस्तकमार्फत सुदूरपश्चिम समग्र विकासका लागि भावी योजना निर्माण, अध्ययन अनुसन्धान तथा भव्य सम्भावना बोकेको क्षेत्र हो भनेर चिनाउने प्रयास गरेको छ,’ उनले भने । 

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्वीरसहितका विवरण प्रस्तुत गरिएका छन् । १२० पृष्ठको पुस्तकमा उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ रंगिन तस्वीर समावेश छन् । पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा भव्य रहेको चित्रण गरिएको छ ।

यस्तै, पुस्तकले सुदूरपश्चिममा अल्पकालीन र दीर्घकालीन उद्देश्य तथा ठोस योजना बनाई पर्यटन, रोजगारी तथा औद्योगीकरणको राम्रो विकास गर्न सकिने प्रचुर सम्भावनालाई केलाएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको उक्त पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने उप्रेतीले बताएका छन् । यसबाहेक उप्रेतीका आधा दर्जन कृति पनि प्रकाशन भइसकेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update