Paschim Express
‘नमुना’ भएपछि फेरिएको डडेल्धुराको भुवनेश्वरी मावि, जहाँ बर्सेनि बढिरहेको छ विद्यार्थीको चाप

डडेल्धुरा । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा स्थायी रुपमा बस्ती बसेको धेरै भएको छैन । अहिलेको बस्ती २०२६–०२७ सालदेखि मात्रै बस्न थालेको हो । सोही आसपासमा भित्रीमधेसको परिगाउँमा पनि बस्ती बस्न थालेको थियो ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार हुन त त्यसअघि झण्डै एक सय वर्ष पहिले नै परिगाउँमा रैस्वालहरुको बस्ती थियो । ०२८ सालमा किन्थादेवी रैस्वालले परिगाउँको जग्गा रुपाल विद्यालयलाई दान गरेपछि अहिलेको बस्ती बसेको स्थानीय बताउँछन् ।

०२८ सालदेखि नै परिगाउँमा सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दा बस्न थालेका हुन् । बस्ती बढ्दै जान थालेपछि परिगाउँमा विद्यालयको महसुस गर्न थालियो । स्थानीयको अग्रसरतामा कक्षा एकदेखि तीनसम्म अध्ययन गर्नका लागि ०३० साल मंसिर ४ गते स्थापना भयो एउटा विद्यालय । जसको नाम थियो, भुवनेश्वरी प्रावि । विद्यालयका संस्थापक अध्यक्ष लक्ष्मणबहादुर शाही (स्वर्गीय) थिए भने संस्थापक प्रधानाध्यापको जिम्मेवारी दशरथसिंह बिष्टले पाए ।

परिगाउँमा बस्ती बढ्दै गयो भने सोहीअनुसार जनसंख्या पनि बढ्न थाल्यो । विद्यालय उमेरका बालबालिका पनि बढ्न थाले । भुवनेश्वरीले ०३६ सालमा ७ कक्षासम्म अध्यापनको अनुमति पायो । ०५२ सालदेखि कक्षा ८ सम्म अध्यापन गर्न थालियो । ०५८ सालदेखि कक्षा ९ र १० को अध्ययन सुरु भयो भने ०६६ सालदेखि ११ र १२ कक्षाको अध्ययन सुरु भयो ।

१२ कक्षासम्म अध्यापन अनुमति पाए पनि विद्यालयको शैक्षिक गुणस्तरप्रति धेरै अभिभावकहरुले भने विश्वास गर्न सकेका थिएनन् । जसका कारण विद्यार्थीको संख्या पनि अपेक्षाकृत रुपमा बढ्न सकेको थिएन ।

०७४ सालमा नेपाल सरकारको शिक्षा विभागअन्तर्गत रहेको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले परशुराम नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माविलाई नुमना विद्यालयको रुपमा छनोट ग¥यो । नमुना विद्यालय छनोट मापदण्ड २०७३ (संसोधनसहित) बमोजिम जिल्ला शिक्षा कार्यालयबाट भएको मूल्यांकन तथा शिक्षा विभागबाट खटाइएका अधिकृत कर्मचारीको टोलीले गरेको स्थलगत अवलोकन सहितको मूल्यांकन प्रमाणीकरण प्राप्त प्रतिवेदनका आधारमा उच्चतम अंक पाएपछि भुवनेश्वरी मावि नमुना विद्यालयका रुपमा छनोट भएको हो ।

त्यसपछि भुवनेश्वरी माविको नाम परिवर्तन भयो र भुवनेश्वरी नमुना मावि नामाकरण गरियो । नमुना विद्यालयमा छनोट भएपछि भने भुवनेश्वरीको भाग्य नै खुल्यो । ५ वर्षसम्म विद्यालयलाई नमुना बनाउनका लागि पूर्वाधार विकासमा ठुलो लगानी भयो ।

विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थ्वालका अनुसार नमुना विद्यालयअन्तर्गत ५ वर्षसम्म विभिन्न काम भएका छन् । ‘सुरुमा विद्यालयको घेरबारबाट थालिएको नमुना विद्यालय बनाउने अभियानअन्तर्गत पूर्वाधार विकासका दर्जनौं काम भएका छन्,’ विद्यालयका प्रधानाध्यापक थ्वालले भने, ‘प्याराफिटसहितको खेल मैदान बनाएका छौं । १८ घनमिटरको पानी ट्याङकी निर्माण गरिएको छ भने कक्षाकोठाको ढोकामै १४ वटा धारा निर्माण गरिएका छन् । शौचालय निर्माण भएको छ । २८ वटा कक्षाकोठा निर्माण भएका छन् ।’

उनका अनुसार तीन सय जना अटाउने अडिटोरियल हल पनि नमुना विद्यालयअन्तर्गत नै निर्माण भएको हो । ‘कक्षाकोठामा डिजिटल बोर्ड राखेका छौं,’ प्रधानाध्यापक थ्वालले भने, ‘प्रोजेक्टरबाट अध्यापन गर्ने गरिएको छ । विद्यालयमा विज्ञान प्रयोगशाला, आइसिटी ल्याव र पुस्तकालय पनि रहेको छ ।’ प्रधानाध्यापक थ्वालका अनुसार प्याराफिट सहितको खेल मैदान निर्माण भएपछि परिगाउँ क्षेत्रलाई नै धेरै फाइदा पुगेको छ । ‘अहिले परिगाउँ क्षेत्रबाट राष्ट्रियस्तरका खेलाडी जन्मेका छन्,’ उनले भने ।

नमुना विद्यालय भएपछि शिक्षाको गुणस्तरमा पनि सुधार आएको दाबी प्रधानाध्यापक थ्वालको छ । उनका अनुसार नमुना विद्यालय नहुँदा ०७४ सालमा भुवनेश्वरी माविमा विद्यार्थीको संख्या तीन सय ४० मात्रै थियो । ‘नमुना विद्यालय भएपछि शिक्षाको गुणस्तरमा सुधार भएको छ भने अहिले अभिभावहरुले हामीलाई विश्वास गरेका छन्,’ प्रधानाध्यापक थ्वालले थपे, ‘विद्यालयमा विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । यो शैक्षिक सत्रमा विद्यालयमा सात सय ५४ जना विद्यार्थी भर्ना भएका छन् ।’ अहिले भुवनेश्वरी नमुना माविमा परशुराम नगरपालिकासंगै भागेश्वर गाउँपालिकाका विद्यार्थी पनि अध्ययनका लागि पुग्ने गरेका छन् ।

परशुराम नगरपालिकाले सञ्चालनमा सहयोग गरेपछि विद्यालयमा निशुल्क बस पनि चलाइएको छ । प्रधानाध्यापक थ्वालका अनुसार टाढाबाट आउने विद्यार्थीलाई ११ र १२ कक्षा पनि निशुल्क गरिएको छ । ‘कक्षा १० सम्म त सबैलाई निशुल्क शिक्षा छ,’ उनले भने, ‘कक्षा ११ र १२ मा पनि टाढाबाट आउने र अभिभावकविहीन बालबालिकालाई निशुल्क पढाउदै आएका छौं । औसतमा बर्सेनि एक सय विद्यार्थीलाई विद्यालय पोसाकसहित शैक्षिक सामाग्री पनि निशुल्क प्रदान गर्दै आएका छौं ।’

प्रधानाध्यापक थ्वाल

प्रधानाध्यापक थ्वालका अनुसार विद्यालयमा विद्यार्थी संख्याको आधारमा २८ जना टिचिङ स्टाफ आवश्यक छ । तर, विद्यालयमा अहिले १५ जना मात्रै शिक्षक कार्यरत छन् । ‘एउटै कक्षामा ७० देखि एक सय २० जनासम्म विद्यार्थीलाई अध्यापन गराउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सेक्सन चलाउनका लागि शिक्षक अभाव छ ।’ उनका अनुसार शिक्षाको गुणस्तर बढाउँदै लैजाने योजना विद्यालयको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडकदत्त भट्टराईका अनुसार विद्यालयको अवस्थामा विगतभन्दा केही सुधार भएको छ । ‘शैक्षिक गुणस्तरमा सोचेजस्तो नभए पनि केही सुधार आएको छ, उनले भने, ‘पहिले अभिभावक र विद्यालयको दुरी बढी थियो । अहिले त्यो घटाउने काम भएको छ । अभिभावकलाई जागरुक बनाउने अभियान नै संचालन गर्ने योजना रहेको अध्यक्ष भट्टराईले बताए ।

परशुराम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिलबहादुर शाहीले भुवनेश्वरी माविमा अहिले विद्यार्थी संख्या बढे पनि विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा केही समस्या भएको बताए । `दरबन्दी थपेर शिक्षकको संख्या बढाउन हामीले पनि पटकपटक पहल गर्दै आएका छौं,´ उनले भने, `विद्यार्थीको अनुपातमा शिक्षक भइदिए सेक्सन चलाएर शिक्षाको गुणस्तर पनि बढाउन सहज हुने थियो ।´ यस्तै विद्यालयको बस संचालनमा नगरपालिकाले सहयोग गरेको वडा अध्यक्ष शाहीले बताए ।

विद्यालयले अपेक्षाकृत रुपमा शिक्षाको गुणस्तरमा सुधार गर्न नसके पनि विगतमा निजीतर्फ आकर्षित कतिपय अभिभावकले समेत अहिले उक्त विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । हुन त भुवनेश्वरी माविको दुबैतिर दुई वटा निजी विद्यालय छन् । तर, विद्यार्थीको चाप भने भुवनेश्वरी नमुना माविमै छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update