Paschim Express
विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र भारतले विजयी सुरूवात गरेको छ । चेन्नाईको एमए चिदम्बरम् स्टेडियममा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एकदिवसीय विश्वकपको जारी संस्करणमा सुखद सुरूवात गरेको हो ।

अष्ट्रेलियाले दिएको २०० रनको सामान्य लक्ष्य भारतले ४१।२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । भारतको जितमा विराट कोहली र केएल राहुलले सानदार ब्याटिङ गरे। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किसनसँगै श्रीयाश ऐयर शून्य रनमै आउट भएपछि दबावमा परेको भारतीय टोलीलाई कोहली र राहुलले खेलमा फर्काएका थिए ।

कोहलीले ११६ बल खेलेर  ६ चौका प्रहार गर्दै ८५ रन बनाउँदा केएल राहुल  ११५ बलमा ८ चौका र २ छक्का प्रहार गरी ९७ रनमा नटआउट रहे। खेलमा हार्दिक पाण्ड्याले ११ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका हेजलउडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९।३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो । अष्ट्रेलियाका स्टेभन स्मिथले ७१ बलमा ५ चौकासहति ४६ रन र डेभिड वार्नरले ५२ बलमा ६ चौका प्रहार गरी ४१ रन बनाए । त्यस्तै मिचेल स्टार्कले २८, लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रनको योगदान गरे ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । जसप्रित बुमराह र कुलदीप यादवले समान २, २ विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले १, १ विकेट हात पारे । विश्वकपमा आज न्युजिल्याण्ड र नेदरल्याण्ड्सबीचको खेल हुनेछ । न्युजिल्याण्डले उद्घाटन खेलमा इंग्ल्याण्डलाई हराएको थियो भने नेदरल्याण्ड्स पाकिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update