Paschim Express
डडेल्धुरामा तस्करीको सामानले गरायो स्थानीय र सशस्त्र प्रहरीबीच लफडा

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिकामा रहेको सशस्त्र प्रहरी बलको बिओपी तातापानी पोेष्टले ५ दिनअघि महाकाली पारी भारतबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको थियो । तर, कमिसनको बार्गेनिङ गर्दै हिजो(सोमबार) १० हजार रुपैयाँ तथा ३ हजारको रक्सी र कुखुरा लिएर बिओपी इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) गणेश रोकायाले उक्त बरामद सामान छाडिदिएको आरोप स्थानीयको छ । उनले १० हजार अरुको खातामा हाल्न लगाएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार उक्त सुर्तीजन्य सामान पाएपछि परशुराम नगरपालिका–६ का स्थानीय अन्दाजी २२ वर्षका दीपक टमटा कामीले सामान लगेर जाँदैथिए । तर, फेरि बिओपीका सई रोकायाको कमाण्डमा केही जवान आएर टमटासहित सामानलाई पुनः नियन्त्रण लिएर लगे ।

बिओपीमा लगेपछि उनले युवकलाई ‘सामान छाड्दा पनि गाली गर्ने’ भन्दै अभद्र व्यवहार गर्दै मरणासन्न हुनेगरी कुटपिट गर्न थाले । उक्त कुरा थाहा पाएपछि स्थानीय बिओपी घेराउ गर्दै युवकको बचाउमा लागे । पछि वडाअध्यक्ष, नगरप्रमुख र प्रहरीलाई जानकारी गराएपछि ती असईलाई नियन्त्रणमा लिइयो ।

स्थानीयका अनुसार सई रोकायाले पहिलेदेखि नै कमिसन लिएर बरामद भएका सामान छाड्दै आएका थिए । स्थानीयको आग्रहमा सामान छाडेपनि उनले युवकलाई समातेर मदिराको नसामा कुटपिट गरेको स्थानीय बताउँछन् ।

‘सईले हिजो दिनभरमा १२ बोतलजति बियर पिएका थिए । साँझ मदिराकै नसामा युवकलाई उनले मरणासन्न हुनेकगरी पिटे’ एक स्थानीयले भने, ‘कुटपिटपछि युवक रोइरहेका बेला सबै गाउँले गएर उनलाई बचाएको हो । नत्र मर्नेथियो होला ।’ हिजोको घटनाअघि सई रोकायाले कमिसन बागर्नेनिङ गरेको अडियो रेकर्ड आफूहरुसँग रहेको उनीहरुको दाबी छ ।

उनका अनुसार स्थानीयले बिओपी घेराउ गरेका बेला परिगाउँबाट सशस्त्र प्रहरीको टोली आएर सई गणेश रोकायालाई नियन्त्रणमा लिएर गएको थियो । ‘बरामद सामान कमिसन लिएर छाड्नु थिएन । यदि छाडेको भए युवकलाई नपिट्नुपर्ने’ उनले भने ।

तर, प्रहरी स्रोत भने स्थानीयको आग्रहमा सशस्त्र प्रहरीले तस्करीको सामान छोडेपछि ती युवकले पार्टी दिइरहेको अवस्थामा सई रोकाया त्यहाँ पुगेको बताउँछ । केही कुरामा विवाद बढेपछि युवकलाई असईले कुटपिट गरेको स्रोतको दाबी छ । विवाद बढेपछि स्थानीयले बिओपी घेराउ गर्दै ढुंगामुढा गर्ने तयारी गरिरहँदा थप प्रहरी पुगेर अवस्था सामान्य बनाएको प्रहरी स्रोत बताउँछ ।

यस विषयमा ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक(डिएसपी) साजेन्द्र प्रसाद श्रेष्ठले बाहिर हल्ला भएजस्तो केही नभएको बताएका छन् । उनले सई रोकायाले मदिरा सेवन गरेर होहल्ला गर्दै गरेका केही युवकलाई सम्झाउन खोज्दा विवाद भएको बताए ।

उनले सई रोकायाले सम्झाउन खोज्दा एक युवकलाई २ झापड हानेको रोसमा स्थानीयले विवाद बढाएको बताए । विवाद बढ्दै गएपछि सुरक्षाका लागि असई गणेश रोकालाई परीगाउँमा लगिएको र बिओपीमा अर्का असईलाई पठाइएको डिएसपी श्रेष्ठले बताए । उनले जोगबुढा अस्पतालमा सई रोकायाको मापसे जाँच गर्दा मदिरा नपिएको देखिएको पुष्टि भएको बताएका छन् ।

कुटपिटबाट घाइते भएका युवक टमटा भने हाल घरमै छन् । घटनापछि प्रहरीले उपचार गर्न जाउ भन्दै गरेको आग्रह उनले नकार्दै आफैं केहीदिनमा भारत गएर उपचार गराउने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update