Paschim Express
डेंगी परीक्षण र उपचारका लागि डडेल्धुरासहितका संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

काठमाडाै.- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् ।

डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाएर निगरानी गर्न आवश्यक रहेको बताएका हुन् । उनले बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । 

स्वास्थ्यमन्त्री पौडेलले लामो बाहुले लुगा लगाउनेजस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताए । उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने बताए । उनले टेलिफोनको रिङटोनमा डेंगीबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने पनि बताए । 

स्वास्थ्यमन्त्री पौडेलले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए । मन्त्री पौडेलले नसर्ने रोगबाट नेपाली आक्रान्त रहेको बताए । उनले डडेल्धुरासहित सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि उनले बताए । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update