Paschim Express
धौलीगंगाको बाँध खोलियो, महाकाली  नदी आसपास सतर्कता अपनाउन आग्रह

काठमाडाैं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भोलि भदौ १ गते शनिबार बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।

बाँधको खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव ढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न दार्चुला प्रशासनले आग्रह गरेको छ ।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update