Paschim Express
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, आजै ‘बुढी’ हाल्ने पर्व पनि

डडेल्धुरा । जेठो पर्वको रुपमा रहेको सुदूरपश्चिम प्रदेशको मौलिक चाड ओल्के हर्षोल्लासकासाथ मनाइँदै छ । विशेष गरी पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर ओल्के पर्व मनाइन्छ ।

यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ। ओल्के चाडमा बढी प्रयोग हुने दूध–दहीको जोहो गर्ने र मीठा-मीठा परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढ्छ ।

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ । ओल्के चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।

ओल्के (ओल्को) भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझिन्छ। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ ।

यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिको साँझ गाउँका सबैजना भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बुढी पोल्ने’ भनिन्छ। बुढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ।

खासगरी पहाडी क्षेत्रमा बसोबास गरिरहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाउने पनि गर्दछन्।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षाको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ।

यस्तै, साउनको महिना रागस (राक्षस) बाट बच्न भनेर घर–घरमा राखिने झिझिरकाँडा (कुरिलो) निकालेर आज (ओल्के) कै दिन दोबाटोमा ल्याएर पोल्ने गरिन्छ। घरका मानिसहरु साउनको महिना रोपाइँ गर्न तथा खेत गोडमेल गर्न जानुपर्ने र घरमा स–साना बालबालिकाहरु एक्लै छाड्नुपर्ने भएकाले राक्षसको प्रकोपबाट बचाउन भन्दै हरेक घरको ढोकामा कुरिलो राखिन्छ। साउन महिनाभर राखिएको कुरिलो भदौ संक्रान्तिमा पोल्ने गरिन्छ।

सदियौँदेखि मनाइँदै आएको यो चाडको रौनक र महत्त्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि पछिल्लो केही दशकदेखि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको स्थानीय जानकारहरु बताउँछन्।

युवा पिँढीमा प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्केजस्ता चाडपर्वहरुको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update