Paschim Express
बन्ढुनी संक्रान्ती

वैदिक सनातन संस्कृतिमा हरेक महिनाको पहिलो दिनलाई पर्वको रुपमा मान्दछन् ।  महिनाको पहिलो दिन संक्रान्तीमा सुर्य एक राशीबाट अर्को राशीमा प्रवेश गरेको हुन्छ ।

सूर्यको राशी परिवर्तनसँगै उदय हुने नक्षेत्रको पनि विशिष्ट महत्व हुन्छ । बैशाख महिनामा विशाखा, जेठमा जेष्ठा अषाढमा पूर्वासाडा, श्रावणमा श्रवण भदौमा भद्रा भएझै असोज महिनाको नक्षेत्र अश्वनी रहेको छ । असोज संक्रान्तीका सूर्यले सिह राशीबाट कन्या राशीमा प्रवेश गरेको हुन्छ ।

सूर्यको राशी परिवर्तनको दिनलाई शुभ दिन मानेर पर्वका रूपमा मान्ने गरिन्छ । त्यसैमा डोटी, डडेल्धुरा क्षेत्रमा मौलिक रूपमा विशिष्ट पर्व मनाउने प्रचलन रहेको छ ।

 संक्रान्तीलाई विभिन्न नाम दिए अनुरुप असोज सक्रान्तीलाई बुडढुनी/ बन्ढुनी भनेर भन्ने गरिन्छ । बुडढुनी बुढी र डढाउनु दुई शब्द मिलेर बनेको छ । ओल्के संक्रान्तीको दिन बाधिएको( बाँडिएको) बुढीलाई बन्ढुनी संक्रान्तीमा पोलिन्छ । 

त्यसैले यस दिनलाई 'बुढीपोल्या' दिन पनि भनिन्छ । 'गाई बाअच्छी पाल बुडी निकाल' भन्दै बाबियाको चुल्ठो बनाएर हरेक गोठमा लैजाने र गाउँको उच्चो ठाउँमा बुढी पोल्ने गरिन्छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला हरेक गाउँमा बुढी पोल्ने चलन छ। बुढीलाई पुतना राक्षसनीकाे प्रतिरुप स्वरूप हरिया झार काँडा (केणाकुणी) बाट गाइगाेरु वन लग्ने ल्याउने (ग्वाहार) काे कुनै निश्चित स्थानमा चाङ बनाउने चलन छ । जसलाई स्थानीय भाषामा बुढी बाढ्ने वा बन्ढुनी बनाउने भनिन्छ । 

पौराणिक कथा प्रसंगसँग जोडदा द्वापर युगमा श्रीकृष्ण भगवानलाई छल गरेर छातिकाे दुध चुसाइ मार्नका लागि उनका मामा कंशले पुतना राक्षसनीलाई पठाएको तर श्रीकृष्णले उल्टै पुतनाकाे दुध मात्रै होइन खुन समेत चुसेर मार्दै गर्दा ग्वालाहरुले बुढीलाई बाँधेको, सामुहिक रूपमा डढाएको सँगै खुशियाली मनाएको प्रसंगसँग यो बुढी बाढ्ने र एक महिना पछि अर्थात असाेज सक्रान्तीमा यसलाई पाेल्ने कुरा सम्बन्धित छ ।

काक्राको चिरा, चामल चपाएर 'थुइ बुढी' भन्दै घर घरबाट बुढी बाडेको ठाउँमा जान्छ्न् ।
विभिन्न ठाउँबाट बुढीको चुल्ठो बोकी ल्याएका ग्वालाहरु बुढी बाधेको ठाउँमा पुग्छन र बुढी पोल्छन् ।

त्यहाँ उपस्थित सबैजना काक्रो लगायत अन्य फलफुल को प्रसाद ग्रहण गर्दछन् । बुढी पोलेको खुशियाली नाच गाना र डेउडा खेल्ने गरिन्छ । हरेक गाउँमा बुढी पोल्ने गरे पनि अमरगढीको पोखरामा निकै उल्लासमय तवरले विशेष कार्यक्रमका साथ मनाउने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update