Paschim Express
बझाङको बुंगलमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बझाङ । बझाङको बुंगलमा पहिरोले घर पुरिँदा एकै परिवारको ४ जनाको मृत्यु भएको छ ।

राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका बेपत्ता रहेका चारै जना मृत भेटिएका छन् ।

पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् । उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।

प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।

स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय राेशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update