Paschim Express
उग्रतारा–मैलौली सडक : सडक कालोपत्रे बन्यो, तर पुल बनेन

डडेल्धुरा । डडेल्धुरादेखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको झण्डै चार दशक पुगेको छ । डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै वडा जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दुरीको उक्त सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा ०४२ सालमा निर्माण सुरु भएको थियो । 

सडक निर्माण सुरु भएको चार दशक पुग्नै लाग्दा अहिलेसम्म डडेल्धुरा खण्डमा १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ । तर सडक कालोपत्रे भए पनि पुल नहुँदा भने निकै सास्ती हुन थालेको छ । उग्रतारा–मैलौली सडकको बसना गाडमा पुल नहुँदा सास्ती भएको हो । डडेल्धुरा–चमडा रुटमा अटो चलाउँदै आएका नवराज भट्टले बसना गाडमा पुल नहुँदा निकै समस्या भएको बताए । ‘बर्सातको समयमा बसना गाडमा पानीको बहाव निकै उच्च हुने गरेको छ,’ उनले भने, ‘सडक कालोपत्रे भए पनि गाडमा पुल नहुँदा आवतजावत गर्न निकै मुस्किल छ । कयौं दिन त सवारीसाधनलाई गाड तार्न नसकेर यात्रुहरु अलपत्र परेका छन् ।’ 

बसना गाडमा पुल निर्माणका लागि गत वर्ष पूर्वाधार विकास कार्यालय डडेल्धुरासंग एक करोड बजेट थियो । कार्यालय प्रमुख नवराज रावलका अनुसार थप बजेटको व्यवस्थापन गरेर बहुवर्षीय ठेक्कामा जाने योजना थियो । ‘स्रोत सहमतिका लागि फाइल अर्थ मन्त्रालयसम्म पुगाएका हौं,’ उनले भने, ‘अर्थले स्रोत सहमति नदिएपछि पुल निर्माणको योजना अगाडि बढ्न नसकेको हो ।’

अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले चालू आथिक वर्षमा बसना गाडमा पुल निर्माणको योजना अगाडि बढ्ने दाबी गरे । ‘गत वर्ष एक करोड मात्रै बजेट भएकाले प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाउन दिएन,’ उनले भने, ‘चालू आर्थिक वर्षको बजेटमा पुल निर्माणको योजना राख्न लगाएका थियौं । तर, उक्त बजेट पास भएन । अब आउने नयाँ बजेटमा बसना गाड पुल निर्माणको योजना अटाउने छ भन्ने आश छ ।’

यस्तै सडकखण्ड अन्तर्गत नौलाकोट गाडमा भने पुल बनेको छ । सुर्नाया नदी र अन्य गाडमा भने पुल बन्न सकेको छैन । 

डडेल्धुराको उग्रतारा मन्दिरदेखि ९६ किलोमिटर लामो दुरीको सडक निर्माण गर्ने कार्य भने भइरहेको छ । डडेल्धुरा खण्डमा अहिलेसम्म उग्रतारा मन्दिरदेखि चमडासम्म सडक कालोपत्रे भइसकेको छ भने बैतडी खण्डमा पनि मेलौलीदेखि सुर्नाया नदीको माथिसम्म कालोपत्रे भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update