Paschim Express
स्थानीय तह स्वमूल्यांकन : डडेल्धुरामा भागेश्वर उत्कृष्ट, नवदुर्गा पुछारमा

डडेल्धुरा । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा डडेल्धुरा जिल्लामा भागेश्वर गाउँपालिका उत्कृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात प्रकाशन गरेको अन्तिम नतिजामा जिल्लाका सात पालिकामा भागेश्वर उत्कृष्ट भएको हो ।

प्रकाशित अन्तिम नतिजामा भागेश्वरले विभिन्न सूचक मापन गरी ७७ दशमलव ५ अङ्क प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९/०८० को स्वमूल्याङ्कनमा अमरगढी नगरपालिकाले ७१ दशमलव ५ अंक पाएको छ । यस्तै आलिताल गाउँपालिकाले ७०.७५, परशुराम नगरपालिकाले ६७.५०, गन्यापधुरा गाउँपालिकाले ६५.२५, अजयमेरु गाउँपालिकाले ६२.२५ र नवदुर्गा गाउँपालिकाले ५९.७५ अंक प्राप्त गरेको छ ।

 
मन्त्रालयले बिहीबार प्रकाशित गरेको नतिजामा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका तथा नगरपालिकाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई अन्तिम नजिता सार्वजनिक गरिएको जनाइएको छ ।

स्वमूल्याङ्कन कार्यले स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भवना जागृत गराउने उद्देश्य स्वमूल्याङ्कनको रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update