Paschim Express
डडेल्धुराकी कविता पिपल्स च्वाइसको मनोनयनमा

डडेल्धुरा । पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयन सुचिमा ५ जना खेलाडी अटाएका छन् । क्रिकेटका गुलशन झा, राष्ट्रिय खेल भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम मनोनयनमा अटाएको छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिशत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए । 

मनोनयनमा परेकी भलिबलकी भट्टको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित भात्काडा हो । विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन् । 

अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

गतवर्ष एपिएफले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप तथा टाइगर कपमा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । केएनपी च्याम्पियनसिपमा उत्कृष्ट सर्भर भएकी उनी गएको वर्ष एपिएफ एनभिए कपमा उपविजेता बन्दा उत्कृष्ट ब्लकर चुनिएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update