Paschim Express
सुदूरपश्चिममा सुरु भयो मौलिक पर्व गौरा

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पर्व गौरा शनिबारदेखि सुरु भएको छ । प्रदेशका ९ जिल्लासंगै सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइदै आएको गौरा पर्व आजदेखि सुरु भएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै छ ।

‘आज भाद्र कृष्ण पञ्चमी अर्थात् सुदूरपश्चिमेलीहरूको महान चाड गौरा पर्वको पहिलो दिन हो,’ उनले भने, ‘आजको दिनलाई बिरूडा पञ्चमीका रुपमा मनाउने गरिएको छ । आजको दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर बिधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिएको छ ।’ 

उनका अनुसार गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसादस्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाई मांगलिक पूजाआजाका साथ ब्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ । शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडा लगायातका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ । सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ ।

त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ । 

‘पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ,’ उपकुलपति जोशीले भने, ‘सोहीअनुसार गौरा पर्व मनाइदै आएको पाइन्छ । भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एबम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।’

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update