Paschim Express
डडेल्धुरा मेडिकल कलेजमा पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी, अध्यापन अनुमति माग

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी भएको छ । गत वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन सुरु भएकोमा  यस वर्षदेखि पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी हो ।

सुुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार त्यसका लागि अध्यापन अनुमति माग गरिएको छ । ‘चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘अध्यापन अनुमति पाए हामी पब्लिक हेल्थ र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्न तयार छौं ।’

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि ०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले पहिलोपटक कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । डिन जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत गतवर्ष पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो तर ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि मात्रै हामीले अनुमति पाएका थियौं । त्यसैले यसवर्ष थव दुई वटा विषयका लागि अध्यापन अनुमति मागेका हौं ।’ 

डिन जोशीका अनुसार एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक छ । ‘अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ,’ जोशीले थपे, ‘डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै हामीले एमबीबीएसको अध्यापन अनुमति पाउनेछौं ।’ उनका अनुसार मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म तीन सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update