Paschim Express
आज नानी र ठूली गौरा एकैदिन मनाइँदै

धनगढी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वअन्तर्गत आज ‘नानी गौरा’ र ‘ठूली गौरा’ मनाइँदै छ । भदौ कष्ण षष्ठी र सप्तमी तिथी एकैदिन परेकाले आइतबार नानी गौरा र ठूली गौरा मनाउन लागिएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपित डा. टीएन जोशीका अनुसार हिजो पञ्चमीका दिन बिधिवत् भिजाइएका बिरूडालाई आज षष्ठीका दिन ब्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङल गाउँदै बिरूडा पखाल्ने काम गरिरहेका छन् ।

‘बिरूडा पखालिसकेपछि आजै महिलाहरू गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा जम्मा भइ बलु नामको एक प्रकारको वनस्पतिको पूजा गर्दछन्,’ उनले भने, ‘आजै अमुक्ताभरण सप्तमी पनि परेको छ । ब्रतालुहरूले आजै गौरा घरमा गौरा भि¥याउने छन् ।’

उनका अनुसार नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । यस्तै ठूली गौराको दिन व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएर विशेष दिनको रुपमा लिने गर्दछन् । सोही दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ ।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि गौरादेवीमा चढाइन्छ । यसका साथै साँझ व्रतालुहरुले कुण्ड स्नान गर्ने चलन छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्दछन् । अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update