Paschim Express
बझाङ भूकम्प : ७ हजारभन्दा बढी संरचना क्षति

धनगढी । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ७ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पका कारण एक जनाको मृत्यु, २९ जना घाइते र ७ हजार १६५ संरचनामा क्षति पुगेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएका छन् । 

यस्तै छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपाया मरेका छन् भने एउटा घाइते भएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए । भूकम्पले बाजुरा जिल्लामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ ।

सो जिल्लामा ६६१ निजी घर पूर्ण रूपमा क्षति भएको छ । खप्तड छेडेदह गाउँपालिकामा २८६ घर, गौमूलमा २५, त्रिवेणी नगरपालिकामा ११०, बडीमालिकामा ११४ र बुढीगङ्गा नगरपालिकामा १२६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । पाँच हजार ९२ निजी घर र २८ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । एक हजार ९८ निजी घर र ३० वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update