Paschim Express
भलिबलकाे मुख्य प्रशिक्षकमा बैतडीका भट्ट नियुक्त, को हुन् उनी ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबल मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेका हुन् ।

भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । १८ वर्षदेखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका उनी प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि भलिबलको मुख्य प्रशिक्षकको जिम्‍मेवारी पाएका हुन् ।

यस्तै तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले बताए । उनी २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए ।

को हुन् भट्ट ?

बैतडीमा जन्मिएका ५० वर्षीय जगदीश २ वर्षकाे हुँदा कञ्चनपुरको महेन्द्रनगर झरेका थिए ।

पढाइसँगै खेलमा पनि अब्बल उनी पहिलो पटक १९९३ मा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । त्यसको दुई वर्षपछि १९९५ मा भारतमा भएको साउथ एसियन गेम्समा उनी पहिलो पटक नेपालको टोलीमा परे । त्यही वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई करारमा भलिबलको प्रशिक्षक नियुक्त गरेको थियो ।

उनले भलिबल खेल्न भने छाडेनन् । २००४ को साउथ एसियन गेम्स खेल्न उनी भारतबाट रेल चढेर पाकिस्तान गए  ।

तर फिट हुने पोशाक नभएका कारण उनले श्रीलंकासँग पहिलो खेल खेल्न पाएनन् । अब्बल खेलाडी हुँदाहुँदै प्रतियोगिताका कुनै खेल खेल्न पाएनन् । त्यहीँ झोकमा उनले सन्यास लिए ।

खेलाडीका रुपमा उनले कुनैपनि मेडल जित्न सकेनन् । तर,  पाकिस्तानबाट फर्किनासाथ राखेपले प्रशिक्षकमा स्थायी गर्‍यो ।  अनि खेलकुद विकास समितिको सहकार्यमा महेन्द्रनगरमा ७० दिन भलिबल प्रशिक्षण केन्द्र तयार पार्दै पूर्णकालीन प्रशिक्षकको यात्रा अघि बढाए ।

सन् २००६ मा श्रीलंकामा भएको साउथ एसियन गेम्समा नेपालको पुरुष टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यसपछि निरन्तर पुरुष टोलीको प्रशिक्षकको रुपमा काम गरे ।

एसियन सेन्ट्रल जोन २०१७ मा पुरुष टोलीले पहिलो पटक कास्य पदक जित्दा जगदीश सहायक प्रशिक्षक थिए । यो अवधिमा उनले भलिबल कोचिङतर्फ लेभल–२ को कोर्स पूरा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update